जारी मनसुनका साथै काेराेना महामारीकाे तेस्राे लहर आउन सक्ने अवस्थालाई ख्याल गर्दै बालबालिकाहरुलाई राेगबाट बचाउन उनीहरुकाे खानपिनमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् ।
मनसुनको समयमा बालबालिकालाई झाडापखाला, जन्डिस, मलेरिया, डेङ्गुजस्ता राेगले सताउन सक्ने बालरोग विशेषज्ञ डा. प्रज्ञा प्रधानले बताइन् ।
त्यसमा पनि नेपालमा काेराेना महामारीकाे तेस्राे लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी प्रभावित हुने अनुमान गरिएकाले पनि उनीहरुकाे खानपिन र स्वास्थ्यमा ध्यान दिनुपर्ने डा. प्रधानकाे भनाइ छ ।
उनले वर्षायाम तथा मनसुनका बेला विशेषगरी खाना र फोहोर पानीका कारण बालबालिकाहरुमा स्वास्थ्य समस्या आउने बताइन् ।
उनले भनिन्, ‘कोरोनाको सम्भावित तेस्रो र चौथो लहरमा बालबालिका बढी जोखिममा पर्नसक्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै सङ्क्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी सङ्क्रमित हुने अनुमानसहित स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।’
उनले मौसम परिवर्तन हुँदा बालबालिकामा प्रतिरोधात्मक क्षमता घट्ने भएकाले यस्तो अवस्थामा स्वच्छ, सफा र पौष्टिक खानाको व्यवस्था गर्नुपर्ने बताइन् ।
बालबालिकालाई ताजा सागसब्जी, तरकारी, दालभात बढी खुवाउनुपर्ने उनले बताइन् । उनले भनिन्, ‘बालबालिकालाई ताजा सागसब्जी, तरकारी, दालभात, पोषणको हिसाबले उपयुक्त र पर्याप्त हुन्छ ।’