Sunday, December 4, 2022
9.7 C
Diktel

एउटै साझा लिपि बनाउन चार किरातका प्रतिनिधि तयार

Subtitle

किराती भाषाहरुको साझा लिपि निर्माण गरी लेखन पद्धतिको विकास गर्न चार किरात संस्थाका प्रतिनिधिहरु तयार भएका छन् ।

नेपालका सबै किरातीहरुले प्रयोग गर्नेगरी एउटै साझा लिपि बनाएर अघि बढ्न किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज र किरात राई यायोक्खाका प्रतिनिधिहरु तयार भएका हुन् ।

हाल किरात समुदायका केही सांस्कृतिक अभियान्ता तथा अगुवाहरुले मात्र व्यक्तिगत रुपमा ‘किरात लिपि’, ‘लिम्बू लिपि’ वा ‘किरात सिरिजङ्गा लिपि’को नाममा सामान्य रुपमा प्रयोग गरिरहेका छन् ।

चार किरात संस्थामध्ये किरात याक्थुङ चुम्लुङले भने २०४९ सालदेखि नै किरात सिरिजङ्गा लिपि नामाकरण गरी उक्त लिपि चलाउने संस्थागत निर्णय गरेको थियो । तर, उक्त लिपिको लेखन प्रणालीको उल्लेखनीय विस्तार भएको छैन ।

हाल किरात सिरिजङ्गा लिपिलाई नै किरातीहरुको साझा लिपिको रुपमा निर्माण गरी लेखन पद्धतिको विस्तार गर्न किरातजन्य संस्थाका प्रतिनिधिहरु तयार भएका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यही जुलाई ९ र १० मा काठमाडौंमा आयोजना गरेको ‘किराती भाषाहरुको साझा वर्णमाला निर्माण तथा लिपि सम्बन्धी कार्यशाला गोष्ठि’मा किरातजन्य संस्थाका प्रतिनिधिहरु साझा लिपि बनाउन निरन्तर बैठक तथा प्राज्ञिक छलफल चलाउन सहमत भएका हुन् ।

‘कसैले यसलाई लिम्बू लिपि, कसैले किरात लिपि, कसैले किरात सिरिजङ्गा लिपि भन्छ, तर हाम्रो संस्थागत धारणा किरात सिरिजङ्गा लिपि हो,’ चुम्लुङका अध्यक्ष योगराज लिम्बूले भने, ‘२०४९ सालमा हामीले यो लिपिलाई किरात सिरिजङ्गा लिपि भनेर नामाकरण गर्दा त्यसबेला नै हामीले भनेको कुरा यो लिपि हाम्रो मात्र हुन सक्दैन, यो अरुले चलायो भने मात्र बढी व्यापक र जीवन्त हुन्छ भनेर हामीले त्यतिखेरै भनेका थियौं ।’

२५ वटा व्यञ्जन र ६ वटा स्वर वर्ण रहेको किरात सिरिजङ्गा लिपिले सबै किराती भाषाहरुको वर्ण समेट्न नसक्ने भएकोले अपुग वर्णहरु थप्नुपर्ने विज्ञहरुको भनाइमा अध्यक्ष लिम्बूले भने, ‘यसले हाम्रो सबै भाषाको पर्याप्तता देखाएन भन्ने कुरा आयो । तर यसलाई हामीले विज्ञहरुसँग मिलेर याे लिपिले जति बोक्छ त्यसलाई प्रयोग गरेर जाने, त्यसमा अपुग कुराहरु थपेर बनाउने भन्ने कुराहरुचाहिँ नितान्त विज्ञहरुसँग सम्बन्धित कुरा भयो । त्यसकारण यसलाई विज्ञहरुको चरणमा छलफल गर्नुपर्छ भन्ने मलाई अनुभूति भयो ।’

सो क्रममा उनले लिपिको नामाकरणमा भने सिरिजङ्गालाई श्रेय दिनुपर्ने बताए ।

किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वर परिसरको सुम्निमा हलमा आयोजित गोष्ठि

किरात याक्खा छुम्माका अध्यक्ष लिलबहादुर रोगुले संयुक्त लिपि बनाउनेबारे ढिलै भए पनि छलफल सुरु भएको बताए ।
उनले साझा लिपि निर्माणका लागि भाषाविद् तथा विज्ञहरुले नै बढी मिहिनेत गर्नुपर्ने बताए ।

‘ढिलै भए पनि हामी एकताबद्ध भएर संयुक्त लिपि बनाएर अघि बढ्नसक्छौं भन्ने एउटा खाका तयार भएको छ । यसमा धेरै छलफल गरौं, विशेषगरी बुद्धिजीवी साथीहरुले पसिना बगाउनुस्, मिहिनेत गर्नुहोस्, मेरो अनुरोध छ,’ उनले भने, ‘यसमा तेरोमेरो भन्ने कुरो छोडौं, यो हामीले गर्नुपर्छ भन्ने भावना राखेर अघि बढौं ।’

सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले साझा लिपि निर्माणको छलफल कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।

आफूहरुले संस्थागत रुपमा अलग लिपि बनाएर प्रयोगमा ल्याउन लागेको भए पनि किरातीहरुको साझा लिपि बनाउने विषयमा सहमति रहने उनकाे भनाइ छ ।

लिपि निर्माणका लागि आफूहरुको संस्थाको तर्फबाट विज्ञ चाहिए डा. लाल रापचालाई लिन सकिने उनले बताए ।

‘संस्थाको तर्फबाट विज्ञ चाहिन्छ भने डा.लाल रापचा लिनुस्, संस्थागत प्रतिनिधि चाहिन्छ भने उत्तमकुमार सुनुवार र महिला प्रतिनिधि चाहिन्छ भने शोभा सुनुवार लिनुस्,’ उनले भने, ‘तर बिना छलफल, तपाईहरुले लादेर, मैले लादेरमात्र हुँदैन । तपाईंहरु सबैले यो कुरालाई सहमति जनाउनुभएको छ, त्यसमा हाम्रो पनि सहमति छ ।’

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले किराती भाषाहरु जोगाउनका लागि अब साझा अवधारणामा जानुपर्ने बताए । उनले कुनै पनि लिपि जति बढीले प्रयोग गर्यो उत्ति नै समृद्ध हुने बताए ।

दुईदिने गोष्ठिमा भाषाविद् तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारामणि राईले ‘किराती भाषाहरुमा साझा वर्णमालाको अवधारणा र लिपि’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले किराती भाषाहरुको वर्णहरुबारे समिक्षा गर्दै सबै भाषालाई समेट्ने गरी किरात सिरिजङ्गा लिपिलाई साझा लिपि बनाउने भए करिब ४३ वटा व्यञ्जन वर्णसहितको लिपिको टेम्प्लेट (नमूना) बनाउनुपर्ने बताए ।

कार्यपत्र प्रस्तुत गर्दै डा. तारामणि राई

प्रतिष्ठानको सदस्यसचिव कमलप्रसाद राजवंशीको अध्यक्षतामा भएको गोष्ठिको दोस्रो दिनको कार्यक्रममा थामी समुदायका अगुवा रमेश थामीसहित किरात समुदायका सांस्कृतिक अभियान्ताहरु, भाषिक संस्थाका प्रतिनिधिहरुलगायत सहभागी थिए ।

(याे समाचारमा २५ वटा व्यञ्जन हुनुपर्नेमा अन्यथा भएकाेले १२ जुलाई २०२१ मा सच्याइएको छ । स.)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्