जनता समाजवादी पार्टी, नेपाल गठन भएको १५ महिनापछि मंगलबार (२०७८ भदौ १) देखि काठमाडौँमा केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ ।

बैठकको सुरुमा पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यहरुलाई सपथग्रहण गराएका छन् ।

काठमाडौँको डिल्लीबजार कालिकास्थानको अमृतभोग पाटी प्यालेसमा आयोजना गरिएको बैठकमा ४०२ जना केन्द्रीय सदस्यहरु सहभागी भएका छन् ।

बैठकमा सहभागी हुने केन्द्रीय सदस्यहरुको नामावली र प्रवेश शुल्क लिइएको विवरणको आधारमा उक्त संख्या देखिएको हो ।

जसपाकी कार्यकारिणी सदस्य सुशिला श्रेष्ठका अनुसार हाल जसपाको केन्द्रीय सदस्यहरुको संख्या ५०६ हो । बैठकमा १०४ जना केन्द्रीय सदस्यहरु अनुपस्थित भएका छन् ।

हाल जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो समूह अलग भइसकेका छन् । ठाकुर–महतो समूह अलग हुनुअघि जसपाको केन्द्रीय सदस्यहरुको संख्या ७७९ थियो ।

अनुपस्थित केन्द्रीय सदस्यहरुमध्ये बढीजसो ठाकुर–महतो समूहमा लागेको अनुमान गर्न सकिन्छ ।

एकातिर पार्टी विभाजन र अर्कोतिर लामो समयपछि राखिएको केन्द्रीय समितिको बैठकलाई विशेष महत्वका साथ हेरिएको छ ।

किनभने पार्टी विभाजनपछि केन्द्रीय सदस्यहरु को कता लागे ? भन्ने कुराको पुष्टि पनि यही बैठकले गरेको छ ।

बुधबारसम्म चल्ने बैठकको पहिलो दिन कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले ‘देशको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यदिशा’ विषयक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

अर्का नेता मृगेन्द्रसिंह यादवले ‘पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)’ सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् ।

ती प्रतिवेदनमाथि करिब एक दर्जन नेताहरुले आफ्नाे भनाइ राखेका छन् ।

बैठकको दोस्रो दिन बुधबार गठबन्धन सरकारमा सहभागिता लगायत विषयमा छलफल हुनेछ ।

अध्यक्ष यादवविरुद्ध नाराबाजी

पहिलोचोटि आयोजना गरिएको केन्द्रीय समितिको बैठक अध्यक्ष उपेन्द्र यादवका लागि भने खल्लो सावित भएको छ ।

बैठकको अध्यक्षता गरिरहेका यादवको कुर्सी वा सोफाको विषयलाई लिएर संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईनिकट नेताहरुले मञ्चमै पुगेर यादवमाथि आक्रोश पाेखेका छन् ।

मञ्चको बिचमा यादवका लागि मात्र उच्च मर्यादा झल्किने गरी छुट्टै प्रकारको आरामदायी सोफाको व्यवस्था गरिएको थियो ।

अध्यक्ष यादवका लागि यसरी छुट्टै सोफाको व्यवस्था गरिएपछि आक्रोश पोखिएको थियो ।

बिचको समयमा खाजा खाइसकेपछि पुनः बैठक सुरु हुन लाग्दा भट्टराईनिकट केही केन्द्रीय सदस्यहरुले मर्यादाक्रम र सोफाको विषयलाई लिएर यादवसामू औला ठड्याउँदै केहीबेर नाराबाजी समेत गरे ।

अध्यक्ष यादवले ती नेताहरुलाई आफ्नाे सिटमा बस्न आग्रह गरेका थिए ।

अध्यक्ष यादवविरुद्ध नाराबाजी

नाराबाजी जारी राखिएपछि नेत्री रेणुकुमारी यादवले माइकबाट बोल्दै कुनै गुनासो भए लिखित रुपमा दिनू र बैठक हलभित्र होहल्ला नगर्नू भनिन् । उनले चर्को स्वरमा बैठकभित्र होहल्ला गर्नेलाई बाहिर जानू भनिन् ।

अन्य नेताहरुले थामथुम गर्दै सम्झाएपछि आक्रोशित नेताहरु पछि हटेका थिए । त्यसपछि नेता अशोक राई र बाबुराम भट्टराईले बैठकलाई सम्बोधन गरेका थिए ।

नेता भट्टराईले आफूलाई समर्थन गर्ने केन्द्रीय सदस्यहरुको व्यवहारबाट आफूलाई नमिठो लागेको बताए ।

जसपाको मर्यादा क्रममा भट्टराई, यादव र राईलाई क्रमशः पहिलो दोस्रो र तेस्रो स्थानमा राखिएको छ ।