रेशम चौधरी जसपामै छन्ः डा. बाबुराम भट्टराई

रिहाई गर्न प्रधानमन्त्री देउवा सकारात्मक हुनुहुन्छ

जनता समाजवादी पार्टी, नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी आफ्ने पार्टीमा रहेको दाबी गरेका छन् ।

कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित संघीय सांसद चौधरी महन्थ ठाकुरले गठन गरेको लोकतान्त्रिक समाजवादी पार्टीमा गएको भनेर अफवाह फैलाइएको बाबुरामको भनाइ छ ।

‘लोसपामा गएका सांसदको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ,’ जसपा सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने, ‘आयोगले सार्वजनिक गरेको सूचीमा रेशमको नाम छैन, उनी जसपामै छन् ।’

रेशम र आफ्नो लगातार संवाद भइरहेको बताउँदै उनले संवादका क्रममा पनि रेशमले जसपामै रहेको बताउने गरेको दाबी गरे ।

भट्टराईले कैलालीको टीकापुरमा भएको घटना नितान्त राजनीतिक भएको भन्दै त्यसलाई राजनीतिक रुपमै समाधान गरिनुपर्ने बताए ।

रेशमको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको बताउँदै उनले जसपाकै पहलमा रेशमको रिहाई हुने बताए ।

‘जसपाले नै रेशम चौधरीको रिहाई गर्न पहल गर्नेछ,’ उनले भने, ‘टीकापुर घटनालाई राजनीतिक रुपमा नै समाधान गर्न पनि हाम्रै पार्टीले पहल गर्नेछ ।’

एमालेले झापामा बन्दुक उठाएको र कांग्रेसले हवाइजहाज कब्जा गर्दा राजनीतिक रुपमा मिलाइएको भन्दै उनले अधिकारका लागि गरिएका आन्दोलनलाई विद्रोह भन्न नमिल्ने तर्क गरे ।

उनले जसपा संघदेखि प्रदेशसम्म सरकारमा सहभागी हुने बताए । संघीय सरकारमा छिट्टै सहभागी हुने बताएका उनले सुदूरपश्चिम प्रदेशमा पनि जसपा सरकारमा जाने उल्लेख गरे ।

‘केही प्रदेशमा जसपा सरकारमा सहभागी भइसकेको छ,’ उनले भने, ‘अन्य प्रदेशमा पनि हामी सहभागी हुनेछौं  । त्यसको सदुपयोग गरी पार्टीलाई बलियो बनाउनु पर्दछ ।’

सरकारको नेतृत्व गरेका देउवाबाट धेरै आशा गर्न नसकिने उनको भनाइ छ । ‘देउवाको मुख्य दायित्व चुनाव गराउने हो,’ उनले भने, ‘त्यसबाहेक सरकारले केही गर्न सक्दैन, गलत गर्न हामीले दिने छैनौं ।’ न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्