Tuesday, March 28, 2023

वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता खाएको आरोप, चरित्र हत्या भन्दै प्रहरीमा उजुरी

दैलेखकाे ठाटीकाँध गाउँपालिका २ का वडाध्यक्ष रुपलाल विश्वकर्मामाथि २ नम्बर वडाका एक युवकले आफ्नी आमाको वृद्धभत्ता खाएको आरोप लगाएका छन् ।

ठाटीकाँध २ का हिमबहादुर शाही नामको आइडीबाट सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नी ७० वर्षीया आमाको सामाजिक सुरक्षा भत्ता वडाध्यक्षले खाएको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘रुपलालजीले मेरो ७० वर्षीया आमाको एक वर्षको पुरै जेष्ठ नागरिक वृद्धभत्ता खाइदिए । गत सालको लक्डाउनमा मैले मेरि वृद्ध आमाको बृद्ध आमाको जेष्ठ नागरिक भत्ताबारे मलाई बुझ्न पनि दिएनन् ।’

आफूमाथि आरोप लागेपछि वडाध्यक्ष विश्वकर्माले यसको सत्यतथ्य छानबिन गर्न कानुनी प्रक्रियाबाट अधि बढ्ने बताएका छन् ।

‘फेसबुकमार्फत सम्रग सबै सरोकार पक्ष सम्पूर्णमा जानकारी गराउन चाहन्छु । यदि कानुनी अनुसन्धानबाट म दोषी ठहरिएमा हरेक कारवाही भोग्न तयार छु । सत्यतथ्य नबुझेर नै चरित्र हत्या गरिएको हो भने साइबर क्राइम मुद्दामा कसैलाई छुट नहुने पनि जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन् ।

सामाजिक सुरक्षा भत्ता वडाध्यक्षले वितरण गर्ने विषय पनि नभएको विश्वकर्माले न्युज कारखानासँग बताए । ‘त्यो त सचिव अथवा कर्मचारीले वितरण गर्ने हो त्यस बारेमा वास्तविक कुरा के हो कर्मचारीलाई बुझ्ने हो, मेरो नाम कसरी आयो त्यसमा पनि वास्तविक प्रमाण चाहिन्छ,’ उनले भने ।

बिना आधार आफ्नो नाम सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने हिसाबले आएको भन्दै उनले भने, ‘यो कुरालाई सहन सकिन्न । आफूले गर्दै नगरेको दोष लगाएर सामाजिक सञ्जालमा गालीगलौज भयो । मैले साइबर क्राइममा निवेदन पठाइसकेको छु । दोषी भए सजायँ भोग्न तयार छु ।’

यस विषयमा सामाजिक विकास मन्त्रालय सुर्खेतका सामाजिक सुरक्षा तथा महिला विकास शाखाअन्तर्गत महिला विकास अधिकृत अनिता ज्ञवाली भन्छिन्, ‘सामाजिक सुरक्षा भत्ता नगद रुपमा वितरण हुँदैन । बैंकमार्फत नै उनीहरुसम्म पुग्ने हो । यस्तो अवस्थामा रकम झिक्न सक्ने भनेको कि खातावालाको संरक्षक बसेकाले हो । कि त खातावालाको सहमतिमा झिक्न पाइन्छ । नत्र मिल्दैन ।’

अहिले सामाजिक सञ्जालमा सत्य कुरा नबुझेर आफ्नो विचारमात्र व्यक्त गर्ने प्रवृत्ति भएकाले विचार व्यक्त गर्ने नै भए प्रमाणसहित व्यक्त गर्न सकिने ज्ञवालीको भनाइ छ । न्युज कारखाना 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्