किरात सिरिजङ्गा लिपिमा लिम्बुहरुले कपीराइट दाबी गर्न मिल्दैनः अमर तुम्याहाङ

भाषा तथा संस्कृतिविद् अमर तुम्याहाङले कुनै पनि लिपि परिवर्तनको सिद्धान्त तथा मानव सभ्यताको विकासक्रमसँगै विकास हुँदै आउने भएकोले त्यसमा कसैको कपीराइट वा सर्वाधिकार नहुने बताएका छन् ।

‘किरात सिरिजङ्गा लिपि’मा लिम्बुहरुको कपीराइट रहेकोले गैरलिम्बुहरुले प्रयोग गर्न पाउँदैनन् भन्ने कुरा सामाजिक कुरा नभएको उनले बताए ।

किरात राई चाम्लिङ खाम्बातिमले शनिबार काठमाडौँको कोटेश्वरस्थित ग्रामर कलेजमा आयोजना गरेको किराती भाषाहरुको साझा लिपि निर्माण विषयक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापकसमेत रहेका तुम्याहाङले सो कुरा बताएका हुन् ।

‘लिपि भनेको रिभोल्युसनरी (क्रान्तिकारी वा हठात परिवर्तन) होइन, इभोल्युसनरी (विकासात्मक वा क्रमशः परिवर्तन हुने) हो । यो हाम्रो मानव सभ्यतासँगै क्रमशः विकास हुँदै आउने कुरा हो,’ उनले भने, ‘एउटा पुस्ताको एउटा मान्छेले दाबी गरेर हुनेवाला हैन यो, ऊ पनि त सदाबहार छैन, भोलि त ऊ पनि मर्छ । त्योभन्दा पछि कसले दाबी गर्ने ? सकियो त त्यसो भए ? त्यस्तो त होइन, त्यसकारण यो सार्वजनिक रुपमा प्रयोग हुने विषय भएको हुनाले कपीराइट वा त्यस्तो खालको कुराहरु समाजमा सौन्दर्यपूर्ण कुरा होइन ।’

कार्यक्रममा उनले ‘लिपि विमर्श’ शीर्षकमा एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो क्रममा केही लिम्बुहरुले किरात सिरिजङ्गा लिपिमा लिम्बुहरुको कपीराइट हुने भएकोले अरुले अनुमतिबेगर चलाउन पाउँदैन भनी विरोध गरिरहेका कुराबारे सहभागीहरुले तुम्याहाङलाई प्रश्न गरेका थिए ।

सोही प्रश्नको जवाफमा उनले किरात सिरिजङ्गा लिपिको ऐतिहासिक विकासक्रमबारे विस्तार गर्दै लिपिमा कुनै व्यक्ति वा समुदायको कपीराइट नहुने बताएका हुन् ।

उनले लिपिको दाबी नै गर्ने भए सबभन्दा पहिले बेलायतस्थित हड्सन लाइब्रेरीमा संकलन गरिएको सामग्रीको संकलनकर्ताहरुले गर्नुपर्ने बताए ।

उनले प्रस्तुत गरेको कार्यपत्रमा नवौं शताब्दीमा हाङ सिरिजङ्गाले गरेको योगदानलाई ध्यानमा राखी किरात याक्थुङ चुम्लुङको २०४९ पुस २२–२४ मा भएको दोस्रो महाधिवेशनले ‘किरात सिरिजङ्गा लिपि’ नामकरण गरेको र उक्त लिपिलाई राष्ट्रिय अभिलेखालयले ‘किरात लिपि’ नामकरण गरेको उल्लेख छ ।

राष्ट्रिय अभिलेखालयकाे लिपि

उनले किरात लिपिलाई साझा लिपि बनाएर त्यस अनुसार फन्ट बनाउन सकिने र त्यसलाई चाहिँ जेसुकै नाम दिन सकिने बताए ।

कार्यक्रममा भाषाविद् डा. तारामणि राईले साझा लिपि निर्माणबारे प्रस्तुति दिँदै नेपालका करिब तीन दर्जन किराती भाषाहरुलाई समेट्ने गरी किरात सिरिजङ्गा लिपिलाई साझा लिपि बनाउन त्यसमा वर्णहरु थप गरी ४३ वटा व्यञ्जन र १० वटा स्वरवर्ण पुर्याउनुपर्ने औंल्याए ।

किरात राई प्रज्ञा परिषद्का प्रमुख जयकुमार राईले नेपालका किरातीहरुको एकताका लागि साझा लिपि आवश्यक रहेको बताए ।

किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युवराज राईले आफूहरुले साझा लिपि निर्माणका लागि लगातार तेस्रो श्रङ्खलासम्म कार्यक्रम आयोजना गरेको जानकारी दिँदै अब केही समयको अन्तरालमा कार्यक्रम गरिने बताए ।

कार्यक्रममा किरात राई यायोक्खाका महासचिव जनक राई, किरात लिपिका अभियान्ता तीर्थराज मुकारुङ, राई समुदायका अगुवा तथा संस्कृतिविद् बयानसिंह राईलगायत विभिन्न संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

2 COMMENTS

  1. आफ्नो भाषा र लिपिलाई अन्य जाती र भाषामा मिसाएर बिलिन गराउनु।अमर तुम्याहाङको गलत हो।तुरुन्त भनाइ सुधार गरियोस् ।बरु सिरिजङ्गा लिपि अरुले सिक्न लेख्न पाउँछन्।

  2. लिपि को नाम बर्ण बदल्नु को लागि समुदाय को सबै बिज्ञ हरुको सकार्य अनि सहमति हुनु पर्छ तर श्रीजंगा लिपि सिर्फ श्रीजंगा लिपी रहन्छ यो जुन सुकै समुदाय ले चलाउने अधिकार छ तर कुन जाति को लिपि हो त्यो याक्थुङ् जातिको मात्र हो ! नत्र अमर तुम्याहाग जिउ ले चाइनिस लिपि लाइ मेरो लिपि हो भनेर अन्तरास्ट्रिय स्तर मा अप्प्रोभल लियोस ना त् ..! अनि कुरा हुन्छ

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्