मिलेर बसेको नेपाली समाजलाई महावाणिज्य दुतले विभाजन गर्न खोजेकोमा आपत्ति

अमेरिकामा मिलेर बसेको नेपाली समाजलाई न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावासले विभाजन गर्न खोजेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिकासहित चार संस्थाका अध्यक्षहरुले आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्र संघको महासभामा भाग लिन नेपाल सरकारको प्रतिनिधित्व गर्दै न्युयोर्क आएको बेला कांग्रेसको भातृसंगठन र नेपाली महावाणिज्य दुतावासको संयुक्त आयोजनामा स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएपछि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, प्रवासी नेपाली मञ्च अमेरिका, नेपाली समाज अमेरिका र प्रवासी नेपाली एकता समाजले हिजाे २६ सेप्टेम्बरमा संयुक्त प्रेस विज्ञप्ति जारी गरी उक्त कार्य अमेरिकामा मिलेर बसेको नेपाली समाजलाई विभाजन गर्ने खालको भएको भन्दै आपत्ति जनाएका हुन् ।

नेपालबाट सरकारी प्रतिनिधिहरु न्युयोर्क आउँदा सबै संघसंस्थाहरुले संयुक्त रुपमा स्वागत गर्ने परम्परा रहे पनि कार्यवाहक महावाणिज्य दुत विष्णुप्रसाद गौतमले विभेदकारी तथा निषेधकारी व्यवहार देखाएको उनीहरुले उल्लेख गरेका छन् ।

‘मन्त्री कुनै पनि दलको नेता हुनसक्छ तर मन्त्री सबैको हो । त्यस्तो विषयमा समेत ध्यान नदिएर नेपाली जनताको सेवाको लागि स्थापना भएको महावाणिज्य दुतावासका पदाधिकारीहरु पार्टीको कार्यकर्ताको शैलीमा उत्रिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विगतमा नेपालदेखि सरकारी प्रतिनिधिहरु न्युयोर्क आउँदा सबै संघसंस्थाहरुले संयुक्त रुपमा स्वागत सत्कार गर्दै आएको परम्परा छ । तर यसपाली कार्यवाहक महावाणिज्य दुत विष्णुप्रसाद गौतमको विभेदकारी र निषेधकारी व्यवहार आपत्तिजनक छ ।’

विज्ञप्तिमार्फत आगामी दिनमा नेपाली महावाणिन्य दुतावास नसच्चिए त्यसबाट गम्भीर दुर्घटना हुन सक्ने चेतावनी समेत दिइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्