नेपालका किरातहरुले साझा लिपि बनाउने, लिपिको नाम ‘किरात सिरिजङ्गा’ हुने

लिपि निर्माणका लागि कार्यदल गठन

नेपालका किरातहरुले एउटै साझा लिपि निर्माण गरी प्रयोग गर्ने भएका छन् ।

किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मासहितको ‘किरात समन्वय समिति’ले एउटै साझा लिपि निर्माण गरी लेखन प्रणालीको विस्तार तथा विकास गर्ने निर्णय गरेको हो ।

यायोक्खाका महासचिव जनक राईकाअनुसार हिजाे (२७ सेप्टेम्बर) काठमाडौंको कोटेश्वरस्थित सुनुवार सेवा समाजको कार्यालयमा बसेको समन्वय समितिको बैठकले सबै किरातहरुकाे साझा लिपि तयार पारी प्रयोग गर्ने निर्णय गरेको हो ।

साझा लिपिको नाम ‘किरात सिरिजङ्गा लिपि’ हुनेछ ।

किरात याक्थुङ चुम्लुङले २०४९ सालदेखि नै किरात सिरिजंगा लिपि नामकरण गरी प्रयोगमा ल्याएको किरात लिपिलाई नै विस्तार गरी सबै किरातीहरुको भाषा अनुसार परिमार्जन गरी साझा लिपि निर्माण गरिनेछ ।

यसका लागि बैठकले भाषाविद् तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारामणि राईको संयोजकत्वमा ९ सदस्यीय कार्यदल समेत बनाएको छ ।

कार्यदलको सदस्यहरुमा प्राज्ञ अमर तुम्याहाङ, डा. लाल रापचा, डा. गणेश जिमी, गणेश वाम्बुले राई, डिबी आङ्बुहाङ, इन्दिरा जिमी र उत्तम सुनुवार छन् । एकजना सदस्य पछि थपिनेछ ।

कार्यदललाई आगामी माघ १ गतेसम्मका लागि समय दिइएको छ ।

कार्यदलले किरात सिरिजङ्गा लिपिलाई साझा रुपमा लेख्ने प्रणालीमा प्रयोग हुनेगरी अध्ययन गर्ने, सम्पूर्ण किराती भाषाहरुलाई किरात सिरिजङ्गा लिपिमा लेखनका लागि वर्णहरु निर्धारण गरी समायोजन गर्ने र वर्ण तथा लिपि सार्वजनिक गरेपश्चात थप्नुपर्ने ध्वनी, चिन्हसहितको लिपि प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको छ ।

२५ व्यञ्जन र १० स्वर वर्ण रहेको किरात सिरिजङ्गा लिपिलाई करिब तीन दर्जन किराती भाषाहरुलाई समेट्ने गरी साझा लिपि बनाउनका लागि त्यसमा थप गरी करिब ४३ वटा व्यञ्जन वर्ण पुर्याउनुपर्ने सुझाव यसअघि नै डा. तारामणि राईले दिएका थिए ।

यायोक्खा महासचिव जनक राईले नेपालका किरातहरुको साझा लिपि निर्माणबारे पछिल्लो केही महिनायता औपचारिक छलफल भइरहेको बताए ।

उनले गत असारको अन्तिम सातादेखि किरातजन्य संस्थाका प्रतिनिधिहरुबिच साझा लिपि निर्माणबारे औपचारिक छलफल भएको बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

3 COMMENTS

  1. बहुजाती एक बृहत् लिपि हुनु स्वागत योग्य कुरा हो

  2. साझा लिपी बनाउने हाेइन । बुझाइ अर्काे काेणतिर माेडियाे । साझा लिपि स्वीकारका लागि आधार तयार गर्न कार्यदल बनेकाे हाे । यसकाे लागी वर्ण थप्नकाे लागि विज्ञ समुहकाे गठन भएकाे हाे । लिम्बु लिपीलाइ सबै किरातीकाे साझा लिपी कसरी बनाउन सकिन्छ भन्ने आधार याे समुहले गर्ने छ । लिपी बनाउनु भनेकाे छुट्टै कुरा हाे । लिपीलाइ स्वीकार गरेर प्रयाेग गर्नु छुट्टै कुरा हाे । अपुग बर्णहरुकाे ध्वनि संकेत थप्ने कुरा हाे । यसकाे लागि नयाँ साझा फाेन्ट तयार गर्ने चाहिँ भनेकाे हाे । फाेन्ट बनाउनु र लिपि बनाउनु फरक कुरा हुन् । लिपिकाे वर्ण र भाषाकाे वर्ण पनि फरक फरक कुरा हुन् । यसरी सबैले बुझाैं । नयाँ लिपि हाेइन लिम्बु लिपिलाइ किरातीहरुकाे भाषा विशेषागरी राइ समुदायकाे भाषाकाे लागि नयाँ साझा फन्ट बनाउने कुरा मात्रै गरिएकाे हाे ।

  3. किराँती हरुमा एउतै भाशा लिपि हुन जरुरी छ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्