जनगणनामा जोडतोडले लाग्न यायोक्खा महासचिवको अनुरोध

किरात राई यायोक्खाका महासचिव जनक राईले देशमा राष्ट्रिय जनगणना–२०७८ सञ्चालन भइरहेको यो समयमा समुदायको सही तत्थ्याङ्क निकाल्नका लागि जोडतोडले खट्नुपर्ने बताएका छन् ।

किरात राई चाम्लिङ खाम्बातिमले हिजो (असोज १७) आयोजना गरेको राष्ट्रिय जनगणनासम्बन्धी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको चाम्लिङ राईहरुको जुम मिटिङमा महासचिव राईले यतिबेला जनगणनाको अभियानमा जोडतोडले लाग्न समुदायका अगुवाहरुसँग अनुरोध गरे ।

सरकारले आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म घरघरमा गणक पठाएर जनगणना गर्ने तयारी गरिरहेका बेला महासचिव राईले यतिबेला भाषिक तथा जातीय संस्थाका प्रत्येक पदाधिकारी तथा प्रतिनिधिहरुले दैनिक दुईदेखि तीन घण्टासम्म समय दिनुपर्ने बताए ।

किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले अहिलेको जनगणना राईहरुको मातृभाषा, धर्म र जनसंख्या बढाउने महान अवसर भएकोले यो अवसरलाई बढीभन्दा बढी सदुपयोग गर्नुपर्ने बताए ।

उनले यतिबेला आफ्नाे व्यक्तिगत काम थाती राखेर भए पनि जनगणनामा जाति, मातृभाषा र धर्मको प्रश्नमा सही उत्तर लेखाउन तथा सचेतना अभियान बढाउन आफन्त, साथीभाइ, वंश तथा पाछाहरुको बिचमा भेटघाट, कुराकानी तथा संवाद बढाउनुपर्ने बताए ।

उनले चाम्लिङ भाषा बोल्न नजाने पनि भाषिक वंशजकाे आधारमा मातृभाषामा चाम्लिङ लेखाउनुपर्ने र चाम्लिङहरुले जुनसुकै हालतमा पनि भाषिक संख्या वृद्धि गर्नुपर्ने बताए ।

जुम मिटिङको आयोजना तथा सहजीकरण गरेका खाम्बातिमका अध्यक्ष युवराज राई आगामी कात्तिक १ गतेदेखि चाम्लिङ राईहरुको बस्तीलाई लक्षित गरी रेडियो तथा टेलिभिजनहरुबाट सूचनामूलक विज्ञापन तथा सामग्रीहरु प्रसारण सुरु गरिने बताए ।

सो क्रममा उनले प्रदेश १ का विभिन्न स्थानीय तहहरुलाई चाम्लिङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन र मातृभाषा शिक्षा अनुरुप विद्यालयहरुमा लागू गर्नका लागि ज्ञापनपत्र बुझाइएको बताए ।

सरकारले सञ्चालन गरेको राष्ट्रिय जनगणनामा यायोक्खाले जातिको महलमा राई, पुर्खाको भाषा, मातृभाषाको महलमा बान्तावा, कुलुङ, थुलुङ, पुमा, चाम्लिङ, दुमी, नाछिरिङ, आठपहरिया, खालिङ लगायत आ–आफ्नाे मातृभाषा, दोस्रो भाषामा नजिक रहेको भाषिक समुदायको भाषा र धर्मको महलमा किरात लेखाउन सामाजिक अभियान चलाइरहेको छ ।

राष्ट्रिय जनगणनाबारे यायाेक्खा अध्यक्षसँग गरिएकाे कुराकानीः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्