किरात सिरिजङ्गा लिपिको वर्णमाला सार्वजनिक, लिपि स्थापित गरिछाड्ने किरातजन्य संस्थाकाे घोषणा

किरात समन्वय समितिले किराती भाषाहरुको लेखन पद्धतिलाई समेट्ने गरी किरात सिरिजङ्गा लिपिको संयुक्त वर्णमाला सार्वजनिक गरेको छ ।

समितिले किरात यले संवत् ५०८२ को अवसरमा शनिबार काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा एक कार्यक्रमको आयोजना गरी किरात सिरिजङ्गा लिपिको वर्णमाला सार्वजनिक गरेको हो ।

समितिले करिब तीन दर्जन किराती भाषाहरुलाई लेख्न सकिने गरी साझा लिपि तयार पार्नका लागि गत २७ सेप्टेम्बरमा भाषाविज्ञ तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारामणि राई संयोजक रहेको नौ सदस्यीय ‘किरात सिरिजङ्गा लिपि समायोजन कार्यदल’ गठन गरेको थियो ।

जसमा प्राज्ञ अमर तुम्याहाङ, डा. लाल श्याँकारेलु रापचा, डा. गणेश जिमी, गणेश राई, डिबी आङ्बुङ, इन्दिरा जिमी, उत्तम सुनुवार र तीर्थराज मुकारुङ सदस्य थिए ।

कार्यदलले तोकिएको जिम्मेवारीभित्र रहेर करिब तीन महिनासम्म लिपि समायोजनसम्बन्धी काम गरी गत ११ जनवरीमा समितिलाई ९४ पेजको प्रतिवेदन बुझाएको थियो ।

शनिबार समितिका अध्यक्ष रणवीर सुनुवारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो ।

जसमा ४८ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण राखिएको छ ।

तर समितिले यसलाई ‘प्रस्तावित संयुक्त वर्णमाला’ भनेको छ । जसबाट सबै किराती भाषाहरुलाई लिपिमा लेख्न सकिने बताइएको छ ।

केही सिम्बोलमात्र थपेका छौं

कार्यदलले समितिलाई प्रतिवेदन बुझाएपछि साल्पा अनलाइनले गत १२ जनवरीमा ‘तयार भयो किरात सिरिजङ्गा लिपि, माघ १ गते सार्वजनिक गरिने’ शीर्षकमा समाचार लेखेको थियो ।

समाचार आएपछि सिरिजङ्गा लिपि तोडमोड गरिएको र नाम समेत फेरेर अतिक्रमण गरेको भन्दै लिम्बू समुदायका केही व्यक्तिहरुले सामाजिक सञ्जालबाट विरोध गरेका थिए ।

तर आफूहरुले समितिले दिएको तीनबुँदे जिम्मेवारीभित्रै रहेर काम गरेको कार्यदलका संयोजक राईले बताए ।

कार्यदललाई दिइएको तीनबुँदे जिम्मेवारी

‘जसरी सामाजिक सञ्जालमा जे टिकाटिप्पणी भइरहेको छ, हामीले त्यस्तो केही पनि गरेका छैनौं,’ उनले भने, ‘हामीलाई किरात समन्वय समितिले तीनवटा बुँदामा कार्यविधि दिएकाे थियो, त्यो भन्दा बढ्ता केही काम गरेका छैनाैं ।’

उनले लिम्बू भाषालाई लेख्न सकिने किरात सिरिजङ्गा लिपिलाई तलमाथि नगरिएको प्रष्ट पारे ।

उनले भने, ‘लिम्बू बाहेक अन्य किराती भाषाहरुलाई लेख्नका लागि थप केही सिम्बोलहरुको विकास गरेका छौं र त्यसको आधार आईपिए (इन्टरनेशनल फोनेटिक अल्फाबेट)लाई लिएका छौं ।’

कार्यदलका सदस्य अमर तुम्याहाङले पनि समितिले दिएको जिम्मेवारीभित्र रहेर काम गरिएको र प्रतिवेदनमा आफूहरुको अभिव्यक्ति नरहेको बताए ।

‘किरात समुदायभित्रको सामाजिक संस्थाहरुको साझा संस्थाको रुपमा किरात समन्वय समिति छ, त्यो समितिको सदस्य संस्था याक्थुङ चुम्लुङले आधिकारिक रुपमा पारित गरेको नामलाई उहाँहरुले सिफारिस गर्नुभएको छ यो नाममा काम गर है भनेर उहाँहरुले भन्नुभएको छ,’ उनले भने, ‘यसमा हाम्रो केही अभिव्यक्ति छैन ।’

उनले लिपि आविष्कार गर्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुन विरोध गर्नेहरुलाई आग्रह गरे ।

‘लिपिको सन्दर्भमा हामीमा सबैभन्दा ठूलो भ्रम के छ भने लिपि आविष्कार गर्न सकिन्छ भन्ने छ, यो भ्रमबाट हामी मुक्त हुनुपर्छ,’ उनले भने, ‘अहिले जोजो साथीहरुले लिपि त एक घण्टामा बनाइदिइहाल्छौं, किन सिरिजङ्गा लिपिमा खेलवाड गरेको भन्ने पनि छ । तर लिपि आविष्कारको विषय हुँदै होइन ।’

उनले कुनै पनि लिपि ऐतिहासिक सभ्यताबाट मात्र निर्माण हुने बताए । किरात सिरिजङ्गा लिपि पनि नेपालको एउटा सभ्यताबाट विकास भएको उनकाे भनाइ छ ।

‘तपाईहरुले देख्नुभएको छ देवनागरी लिपि । देव त पछि शाह देवहरुले चलाएपछि थपेका हुन्, खासगरी नागरी लिपि हो त्यो । नगरबासीहरुले चलाउने लिपि । रोमन लिपि रोमन सिभिलाइजेशनको लिपि हो,’ किरात सिरिजङ्गा लिपिबारे उनले भने, ‘नेपालमा तीनवटा नाममध्ये दुईवटा नाम बढी सिभिलाइजेशनसँग जोडिएको छ । राष्ट्रिय अभिलेखालयले राखेको नाम ‘किरात लिपि’ छ । त्यो सिभिलाइजेशनसँग जोडिएको हो । किरात इतिहास आफैमा सत्य हो होइन भन्ने आफ्नाे ठाउँमा छ । तर नेपालले रिकग्नाइज गरेको महिषपाल हो, गोपाल हो, त्यसपछि किरात हो, त्यसपछि लिच्छबी हो, त्यसपछि मल्ल हो भन्ने जुन रिकग्निशन छ, त्यो रिकग्निशनको आधारमा उसले नामकरण गरेको हो । सिक्किममा लिम्बू सिभिलाइजेशनसँग जोडर ‘लिम्बू लिपि’ नाम राखिएको हो । साथीहरु जसले विवाद गर्नुभएको छ, मैले उहाँहरुसँग अनुरोध पनि गरेको थिएँ, अहिले पनि गर्छु वास्तवमा ज्ञान निर्माण भनेको एउटा पद्धतिमा हुन्छ ।’

लिपि स्थापित गरिछाड्छौं

किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बूले कार्यदलको प्रतिवेदनलाई आफूहरुले ग्रहण गरिसकेको र अब समाज, समुदाय र संस्थाहरुमा सार्वजनिक गर्दै लगिने र सुझावहरु पनि लिँदै अघि बढ्ने बताए ।

उनले भने, ‘हामीले प्रतिवेदन ग्रहण गरिसकेपछि यसलाई समाजमा लाने, छलफल गर्ने, ग्रहण गराउने अनि व्यापक गर्ने कुरामा हामी लाग्नेछौं भन्ने मन्तव्य राख्न चाहन्छु ।’

उनले किरात सिरिजङ्गा लिपिलाई सबै किराती भाषाहरु लेख्न चलाउने सहमति भएपछि नै आफूहरु अघि बढेको बताए ।

उनले किरात सिरिजङ्गा लिपिको वर्णमाला सार्वजनिक कार्यक्रमले लिपि बचाउने सिरिजङ्गालाई उचित श्रेय र ठूलो सम्मान दिने काम भएको बताए ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष याेगराज लिम्बू

‘सिरिजङ्गा जसले यो लिपिलाई आजसम्म चलाउनुभो, आज उहाँलाई हामीले उचित र सबैभन्दा महत्वपूर्ण स्थान दिन सक्यौ भन्ने मलाई लागेको छ,’ उनले भने, ‘उहाँले बचाइरहनुभएको, उहाँले प्रचार गरिरहनुभएको लिपि हिजो एउटा समुदायमा सीमित थियो, आज ठूलो समाज र समुदायमा प्रचलित हुँदैछ, त्यसले उहाँलाई ठूलो सम्मान दिएको अनुभूति भइरहेको छ ।’

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले किरात सिरिजङ्गा लिपिको वर्णमाला सार्वजनिक कार्यक्रम सुखद र ऐतिहासिक भएको बताए ।

उनले अब किरात सिरिजङ्गा लिपिलाई नेपालमा प्रयोग हुने देवनागरी लिपि पछिको सबैभन्दा बढी चलाइने लिपिको रुपमा स्थापित गरिने बताए ।

‘अब यो लिपिलाई तत्काल पूर्णता दिएर यसलाई छपाइ गरेर गाउँगाउँमा विद्यालयमा पठनपाठन सुरु गरियो भने साचो अर्थमा हाम्रो अभियानले सार्थकता पाउनेछ । हामी यो अभियानमा तीव्र गतिमा लाग्छौं,’ उनले भने, ‘देवनागरी लिपि पछिको सबैभन्दा धेरैले चलाउने लिपिको रुपमा किरात सिरिजङ्गा लिपि बनाउनुपर्छ । यो अभियानका साथ हामी अगाडि बढिरहेका छौं, त्यो स्थापित गरेरै छाड्छौं ।’

किरात याक्खा छुम्माका अध्यक्ष लिलबहादुर रोगूले किराती भाषाहरुलाई बचाउन किरात सिरिजङ्गा लिपि सहयोगी हुने विश्वास व्यक्त गरे ।

उनले अब सबैले दत्तचित्त भएर लिपिलाई मजबुत बनाउनेतिर लाग्नुपर्ने धारणा राखे ।

किरात याक्खा छुम्माका अध्यक्ष लिलबहादुर रोगू

नेपाल थामी समाजका अध्यक्ष सुखवीर थामीले अरुले गरेको कामलाई विरोध गर्नु वा समस्या देखाउनु सजिलो भए पनि समाधान निकाल्नु गाह्रो हुने भएकाले विभेदकारी राज्यसँग लड्नका लागि हामी भन्ने सामूहिक भावना लिएर अघि बढ्नुपर्ने बताए ।

उनले किरात सिरिजङ्गा लिपि आफ्नाे समुदायमा प्रयोग गर्नका लागि छलफल चलाउने बताए ।

नेपाल थामी समाजका अध्यक्ष सुखवीर थामी

किरात सिरिजङ्गा लिपि निर्माण सम्बन्धी कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोग रहँदै आएको छ ।
शनिबार प्रतिष्ठानकै आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । जसमा प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती मगर प्रमुख अतिथि थिए ।

सो अवसरमा कार्यदलका संयोजक तथा सदस्यहरुलाई माला लगाएर सम्मान पनि गरिएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

2 COMMENTS

  1. धेरै राम्रो र उदारबादी सोच हो, अत हामी सबैले यो सिरिजङ्गा लिपिलाइ सङ्गरक्षण, सम्बर्धन , जगेर्ना गर्नु जरुरी देखिन्छ, राम्रो कामलाई बिरोध गर्नु त नकारात्मक सोच भएका ब्यक्तिले मात्रै गर्छ, मेरो तर्फबाट सिरिजङ्गा लिपिको परिमार्जन गर्ने सङ्गयोजक र अन्य सम्पूर्ण कार्यकारिणी ज्युहरुलाइ हार्दिक धन्यवाद दिन चाहन्छु । नोगेन सेवारो!

  2. यो एकदम राम्रो कुरा हो तर समुदाय मा छलफल पुगेन यस्मा अझ बृहत् छलफल गर्ने पर्ने थियो।
    तर प्रचलित सिरिजंगा लिपि लाई तोडमोड नगरीकन चलाउनु हुन बिनम्र अनुरोध गर्दछु!

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्