समाजवादको नाममा सत्तामा पुगेकाहरुले नै सात पुस्तालाई पुग्ने कमाए : मन्त्री श्रेष्ठ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाजवादको नाममा नेतृत्वमा पुगेर प्रधानमन्त्री, मन्त्री भएका नेताहरु नै सात पुस्तालाई पुग्ने गरी धन कमाउने धन्दामा लाग्दा समाजको प्रगति नभएको बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले समाजवादको नाममा लामो समय भूमिगत भएका, युद्ध लडेका, जेल जीवन बिताएका वा प्रवासमा बसेका नेताहरु नै सत्तामा पुगेपछि सात पुस्तालाई पुग्ने धन कमाउनेतिर लाग्दा समाजको प्रगति नभएको बताए ।

केही दिनअघि काभ्रेपलाञ्चोकस्थित भुम्लु गाउँपालिका वडा नं ८ दोलालघाट कोशीपारीमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

‘समाजवादको नाममा धेरै मानिसहरु नेतृत्वमा आए । प्रधानमन्त्री भए, मन्त्री भए, तर व्यक्तिहरु समृद्ध भएका छन्,’ उनले भने, ‘धेरै त्याग गरेका, कतिपय नेताहरु भूमिगत भएका छन् युद्ध लडेका छन् प्रवासमा बसेका छन् लामो जेल जीवन बिताएका छन् । जब उनीहरु सत्तामा पुगे, तिनीहरुले आफू सत्तामा पुग्नुभन्दा अगाडि जनताको जीवनस्तरमा कस्तो देखेका थिए ? र आफै कस्तो जीवन बिताइराखेका थिए ? त्यो कुरालाई ध्यानमा नराखी सात पुस्तालाई पुग्ने कमाउने धन्दामा लागे । जसको कारण समाजको प्रगति होइन, नेताको प्रगति भयो व्यक्तिको प्रगति भयो ।’

उनले नेताहरुको सवालमा मात्र नभएर राज्यसत्तामा रहेका कर्मचारीतन्त्र र विभिन्न निकायमा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरुको सवालमा पनि यही अवस्था रहेको बताए ।

‘यो नेताहरुको मात्र सवाल होइन,’ उनले भने, ‘राज्यसत्तामा रहेका कर्मचारीतन्त्र होस्, विभिन्न निकायमा राजनीतिक नियुक्ती पाएका व्यक्तिहरु हुन् वा कमिशनखोर पूँजीपतिहरु हुन्, हरेकको स्थिति हामी त्यही देख्छौं ।’

उनले समाजवाद धनीहरुका लागि नभएर जनताका लागि हुनुपर्ने र अब त्यसका लागि जनस्तरबाटै काम गर्नुपर्ने बताए ।

उनले भने, ‘जनता समाजवादी पार्टीले जनताको समाजवाद चाहेको छ । जनताको समाजवाद के त भन्दाखेरि कांग्रेस र कम्युनिष्टले भनेको समाजवाद जसले यो देशको निमुखा जनतालाई मुक्ति दिन सकेन, उत्पीडित जातिहरुलाई मुक्ति दिन सकेन, श्रमजीवि वर्गलाई मुक्ति दिन सकेन । त्यस्तो समाजवाद होइन । समाजवाद भनेको समाजका सबैभन्दा पिछडिएको क्षेत्र, सबैभन्दा पिछडिएको जाति, सबैभन्दा पिछडिएको गरिब निमुखा, भोकरोगले सन्त्रस्त जनतालाई सुख दिन सक्छौं भने त्यो समाजवाद हो ।’

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य रामकृष्ण श्रेष्ठकाे नेतृत्वमा ४३ जना जसपामा प्रवेश गरेका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

  1. माननीय मन्त्री ज्युले भन्नू भयको कुरा यथार्थ हो नै । सत्तामा पुगेर समाजको भ्न्दा आफ्नो निजि स्वार्थ र कमाउ धन्दा मा बढी सक्रिय भयको कारण आज देशमा बेरोजगारी बढेको छ , स्वास्थ , शिक्षा राम्रो छैन महङ्गो शिक्षाको कारण असल शिक्षा बाट सर्वसाधारण जन्ताको सन्तान बन्चित छ्न ।
    यहाँको जस्तै सबै नेताज्यु हरुको सोच हुने हो भने एक दशक मै देश समृद्धि दिशामा उन्मुख हुनेमा दुई मत छैन।
    हार्दिक नमन सरल अनि स्वच्छ छबिका मा. मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्युलाई 💕🙏🙏🙏🙏🙏

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img