जनता समाजवादी पार्टी (जसपा) का नेता तथा क्रान्तियोद्धा प्रेमकृष्ण पाठकको आज बिहान काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
जसपाका वरिष्ठ नेता अशोक राईले नेता पाठकको उपचारको क्रममा ह्याम्स अस्पतालमा बिहान ७ बजे निधन भएको जानकारी गराएका छन् ।
श्रमजीवी वर्ग र उत्पीडित समुदायको पक्षमा जीवनभर संघर्ष गरेका दिवंगत नेता पाठकको निधनमा दुःख व्यक्त गर्दै नेता राईले उनको आजै पशुपतिको विद्युत शवदाह गृहमा ३ बजे श्रदाञ्जलीसहित अन्तिम संस्कार गरिने जनाएका छन् ।
२०६९ सालमा नेकपा एमालेबाट विद्रोह गरेका नेता अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी नेपाल गठन हुँदा उक्त पार्टीमा केन्द्रीय उपाध्यक्षमा रहेर पाठकले साथ दिएका थिए ।
उनी २००७ सालदेखि नै क्रान्ति, लोकतन्त्र, अधिकार र परिवर्तनका लागि राजनीतिमा लागेका थिए ।
त्यसबेला नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका उनी २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि नेपाली कांग्रेस र नेकपा एमालेमा संगठित भएर सक्रिय रहेका थिए ।
२०६९ सालदेखि उनी समाजवादी पार्टीमा लागेका थिए ।



