Friday, December 9, 2022
15.9 C
Diktel

जसपा फुटबाट बच्याे, उम्मेदवारकाे टिकटमा हस्ताक्षर गर्ने जिम्मा अशोक राईलाई

जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारको मनोनयन पत्रमा आधिकारिक हस्ताक्षर गर्ने जिम्मा वरिष्ठ नेता अशोक राईलाई दिएको छ ।

जसपाकाे हिजो (शनिबार) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा निर्वाचनमा कसको हस्ताक्षरबाट टिकट वितरण गर्ने ? भन्ने सहमति जुटेको थिएन । आज बसेकाे बैठकले नेता राईलाई हस्ताक्षर गर्ने अधिकार दिने निर्णय गरेको हो ।

हिजोको बैठकमा केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशाेक राई तीनैजनाको हस्ताक्षर चलाउने वा वरिष्ठ नेता राईको एक्लो हस्ताक्षर चलाउने भन्ने कुराकानी चलेको थियो ।

अध्यक्ष यादव भने कार्यकारी अध्यक्ष आफू नै भएकोले आफ्नै हस्ताक्षर चल्नुपर्ने पक्षमा थिए ।

हिजो दिनभरि नै निर्वाचनकै बारेमा छलफल भएको थियो र अन्त्यमा बिनानिष्कर्ष बैठक सकिएको थियो । तर, बैठकले उत्पन्न विवादमा निर्णय गर्ने जिम्मा तीन प्रमुख नेताहरु यादव, भट्टराई र राईलाई दिएको थियो ।

बैठकले पार्टीभित्र उत्पन्न सबै खालका समस्या वा विवादहरु हल गर्नका लागि डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रहेको उच्चस्तरीय कार्यदल समेत बनाएको छ ।

आज बिहान तीनजना नेताहरु छलफल गरेर सहमति गरेपछि दिउँसो पुनः बैठक बसेर निर्णय गरिएको हो ।

बैठकले स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने र आयोगसँग पार्टीको तर्फबाट कुराकानी तथा समन्वय गर्ने जिम्मा केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठ र प्रकाश अधिकारीलाई दिएको छ ।

बैठकले पार्टीभित्र उत्पन्न सबै खालका समस्या वा विवादहरु हल गर्नका लागि डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रहेको उच्चस्तरीय कार्यदल समेत बनाएको छ ।

जसले निर्वाचन सम्बन्धी उत्पन्न हुने विवादहरुलाई पनि हल गर्नेछ भने केन्द्रीय कार्यकारिणी समितिको बैठक नबसेका बेला पनि निर्णय गर्ने अधिकार पाएको छ ।

साल्पा अनलाइनसँग वरिष्ठ नेता राईले भने, ‘पार्टीभित्र उत्पन्न सबै खाले समस्या र विवादहरु (उम्मेदवारी सम्बन्धी समेत)लाई हल गर्नका निम्ति केन्द्रीय कार्यकारिणी समितिको बैठक नबसिरहेको बेलामा डा. बाबुराम भटराई, उपेन्द्र यादव र अशोक राई रहेको तीनजनाको हाइकमाण्डले निर्णय गर्न पाउने अधिकारसम्पन्न टिम बनाइयो, तीन दिनको छलफलको निष्कर्ष यही हो ।’

निर्वाचनमा उम्मेदवार चयन गर्ने विधि र प्रक्रियाबारे भने बैठकको पहिलो दिन अर्थात गत शुक्रबार नै निर्णय गरिएको थियो ।

जसमा गाउँपालिका र नगरपालिकाको वडा तहको उम्मेदवार गाउँपालिका र नगरपालिका समितिले नै टुंगो लगाउने,

गाउँपालिका र नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुखको उम्मेदवार गाउँपालिका र नगरपालिकाको सिफारिसमा जिल्ला समितिले टुंगो लगाउने,

उपमहानगरपालिकाको उम्मेदवार जिल्ला समितिको सिफारिसमा प्रदेश समितिले टुंगो लगाउने र, महानगरपालिकाको उम्मेदवार जिल्ला समितिको सिफारिसमा केन्द्रले टुंगो लगाउने निर्णय छ ।

ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी गार्डेनमा तीनदिन बैठक बसेर केही निर्णयहरु गरेपछि हाललाई भने विभाजनको संघारमा पुगेको जसपा जोगिएको विश्लेषण गरिएको छ ।

यसअघि अध्यक्ष यादवमाथि पार्टीको महत्वपूर्ण निर्णयहरु एकलौटी रुपमा गरेको आरोप थियो ।

यादवमाथि सोही आरोप लगाउँदै र उनको स्वेच्छाचारिताविरुद्ध भट्टराई पक्षले पार्टीको विधान अनुसार रिक्त रहेको एक अध्यक्ष पदपूर्ति गर्नुपर्ने प्रस्ताव ल्याएको थियो । जसलाई यादवले इन्कार गरेका थिए ।

1 COMMENT

  1. सालाहरू एउटा हस्ताक्षरको लागि २ दिन बैठक बसेर निर्णय गर्नेले देश बिकासको योजना तर्जुमा गर्न कति बैठक बस्छौ ⚠️

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्