नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महिलालाई धेरै ठाउँमा पालिका अध्यक्ष र मेयर बनाउने आफ्नाे विचार रहेकाे बताएका छन् ।
स्थानीय तहकाे निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन गर्ने निर्णय गरेसँगै महिला निर्वाचित भएर आउने सम्भावना कम भएकाे बेला अध्यक्ष दाहालले महिलालाई धेरै ठाउँमा पालिका अध्यक्ष र मेयर बनाउने आफ्नाे विचार रहेकाे बताएका हुन् ।
तुलनात्मक रुपमा महिलाहरुले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता र सुशासन बढी देखिएको भन्दै उनले भने, ‘त्यसकारण महिलालाई धेरै ठाउँमा पालिका अध्यक्ष र मेयर बनाउने मेरो विचार छ ।’
अध्यक्ष दाहालले आज चितवनको आँपटारीमा भूमिहीन दलितहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै साे कुरा बताएका हुन् ।
‘महिलाहरुले चाह्यो भने धेरै गर्न सक्छन् भन्ने देखियो । मैले शशीजीलाई भूमि व्यवस्था मन्त्री बनाउँदा उहाँको इच्छाशक्ति र दृढता देखेर तपाईले सक्नुहुन्छ, तपाईले आँट गर्नुपर्छ भनेको थिएँ उहाँले गरेर देखाउनुभयो’, मन्त्री शशी श्रेष्ठलाई धन्यवाद दिँदै उनले भने, ‘उर्जामन्त्री अहिले पम्फालाई बनाइयो, उहाँले २० युनिट मुक्त गर्नुभएको छ, त्यसले लाखौ ग्राहक लाभान्वित भएका छन् ।’