घोपा बचाउन माग पुरा नभएसम्म आन्दोलन: न वार्ता, न सम्झौता

हर्ष सुब्बा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिको बारेमा छानबिन गर्न गठन भएको वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वय गर्न माग गर्दै धरानमा युवाहरूले नयाँ आन्दोलन शुरु गरेका छन्।

प्रतिष्ठानको डेन्टल कलेज मुलगेट अघि सडकमा बुधवार जारी धर्नाका बीच आन्दोलनका अगुवा सुदन गुरुङले घोषणा गर्नुभयो, ‘हामी वार्ता र सम्झौतामा विश्वास गर्दैनौं माग पुरा नभए सम्म आन्दोलन जारी रहन्छ।‘

‘अब सम्झौता गर्ने अनि चुप लागेर बस्ने आन्दोलनले हुँदैन‘ सामाजिक अभियन्ता महेश श्रेष्ठ भन्नुहुन्छ। वीपीमा हुने भ्रष्टाचारमा उपकुलपतिहरूनै संलग्न भएका घट्नाहरू धेरै पुराना भएका छैनन्। उपचारमा लापरवाहीका कारण मृत्यु हुने बेथितिको विरोधमा पटक पटक भएका आन्दोलनले पनि कुनै परिवर्तन ल्याउन सकेको छैन्। पछिल्लो पटक वीपीका चिकित्सकहरूले लामो समय आन्दोलन गरे। उनिहरूसँग वार्ता गर्न बस्दा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले कार्यालय समयमै मादक पदार्थ सेवन गरेको आरोप चर्चाको विषय बनेको थियो।

सरकारले बेथितिको छानबिन गर्न पछिल्लो समय छानबिन गर्न गठन गरेको कार्यदलले प्रतिवेदन समेत सार्वजनिक गर्‍यो। त्यस्लाई कार्यान्वयन गर्न प्रतिष्ठानको ऐन बमोजिम सहकुलपछि शिक्षा मन्त्रीले चैत २३ गते प्रतिष्ठानको सिनेट बैठक बोलाएका थिए। उपकुलपति कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले बैठक रोक्ने आदेश दिएपछि वीपीका सबै समस्याहरू थातीमा रहे।

अभियन्ता महेश श्रेष्ठ भन्नुहुन्छ, ‘यस्तो अवस्थामा शुरु भएको नयाँ आन्दोलनको कुरा नौलो कुरा लाग्न सक्छ।‘ गएको शनिवार धरानको भानुचौकमा युवाहरूको र्‍याली प्रदर्शन सहित आन्दोलनको घोषणा सभा गरी उनिहरू दिनहुँ ठिक ४ बजेदेखि धर्ना बस्दै आएका छन्। आन्दोलन काठमाडौँका युवाहरूको ‘हामी नेपाल‘ संस्थाको धरान च्याप्टरले शुरु गरेको हो। यसलाई उनिहरूले ‘घोपा बचाउ अभियान‘ नाम दिएका छन्।

वीपी प्रतिष्ठान स्थापना हुनुअघि त्यहाँ बेलायती सेनाको भर्ति केन्द्र घोपा क्याम्प थियो। धरान नगर पञ्चायतमा गाभिनु अघि घोपा गाउँ पञ्चायतमा घोपा क्यान्टोनमेन्ट राखिएकोले स्थानिय जनजिब्रोमा घोपा क्याम्प बसेको हो। नयाँ आन्दोलनले युवा पुस्तालाई धरानको इतिहास सम्झाउने काम पनि गरेको धरानका अर्का अभियन्ता निश्चल पलिखे बताउनुहुन्छ।

धरानको विकासमा घोपा क्याम्पले जुन योगदान गरेको थियो, वीपी प्रतिष्ठानले त्यो भन्दा ठूलो योगदान गरेको छ। कुनै बेला एशियाको सुविधा सम्पन्न अस्पताल भनि चर्चा हुने गरेको वीपी प्रतिष्ठान रेफरल अस्पतालको रुपमा विकासित थियो। हिजोआज अधिकांश बिरामीहरू वीपीबाट बाहिर रेफरल हुने गरेको छ। हालैमात्र दातृ संस्थाले हाडजोर्नी विभागलाई दिने गरेको नेल रड निःशुल्क लगाउनु पर्नेमा रकम असुलेको पाइएपछि मेडिकल काउन्सिलले डा.रोशन कलवार साहलाई छ महिना निलम्बन गर्ने कारवाही गरेको छ।

‘हामी नेपाल‘का अध्यक्ष गुरुङले भन्नुहुन्छ, ‘निलकण्ठ कार्यदलको प्रतिवेदनलाई अक्षरस लागु गर्ने हो भने प्रतिष्ठानका पदाधिकारी, कर्मचारीहरूको सम्पति पनि छानबिन गर्नुपर्ने अवस्था आउँछ। प्रतिवेदनले वीपीका अनियमिताहरू सबै खुलासा गरेको छ, प्रतिवेदनको कार्यान्वयले धैरै कुरामा सुधार आउँछ र हाम्रो प्रमुख माग त्यसको कार्यान्वयन हो।‘ आन्दोलनमा धरानका सरोकारवालाकाहरूको सहभागिता बढ्दै गएको गुरुङले वताउनुभयो।

आन्दोलनले प्रतिष्ठानमा तत्काल सुधार हुनुपर्ने ११ वटा माग अघि सारेको छ। प्रतिष्ठानको दिर्घकालिन स्थायीत्वका लागि नीतिगत रुपमा लागु गनिनुपर्ने ५ वटा माग पुरा नभए सम्म आन्दोलन नरोकिने अध्यक्ष गुरुङले वताउनुभयो। तत्काल एमरजेन्सी, शैल्यक्रिया प्रक्रिया, सिटीस्क्यान, एमआरआई, ल्याब, ओपीडिको लाइन, औषधिको गुणस्तर जाँच, प्रशासनिक काममा राजनीतिक प्रभाव, फार्मेसीबाट निशुल्क औषधी, आइसीयु सबैलाई समान रुपमा हुने जस्ता सुधारको माग आन्दोलनकारीको छ।

सुधारको स्थायित्वका लागि वीपीलाई भ्रष्टाचार मुक्त गर्न आन्दोलनका मागहरूमा बैकुण्ठ अर्यालको नेतृत्वमा भएको छानबिन प्रतिवेदन तुरन्त लागु गरिनु पर्ने, लामो समय देखी उपचार सुविधामा भैरहेको बेथितिको उच्च स्तरिय छानबिन आयोग गठन गरी जिम्मेवार कर्मचारी, पदाधिकारीहरूलाई कार्वाही, खरिद तथा टेण्डर प्रक्रिया पारदर्शी बनाई सबै कुरा बेव साइटमा राख्नपर्ने र उक्त मागहरू पुरागर्न नसक्ने भए सम्बन्धित पदाधिकारीहरूले राजिनामा दिएर मार्ग प्रशस्त गर्न पर्ने माग आन्दोलनकारीको छ।

‍दबाबका लागि शान्तिपूर्ण रुपमा आन्दोलन प्रतिष्ठान बाहिर धर्नाका रुपमा चलेको छ। कुनै किसिमको हस्तक्षेप भएमा प्रतिष्ठान भित्रै धर्ना सञ्चालन गरिने गुरुङले वताउनुभयो। काठमाडौँमा पनि हामी नेपालको नेतृत्वमा परिणामुखी आन्दोलन भएको बताउँदै अध्यक्ष गुरुङले वीपीमा गरिने आन्दोलनका बारेमा सरकारलाई जानकारी दिएको वताउनुभयो। चार दिन निरन्तर धर्ना जारी भएपछि वीपी प्रशासनबाट वार्ताका लागि प्रस्ताव आएको बताउँदै अध्यक्ष गुरुङले भन्नुभयो, “हामीले वार्ता गरेर सम्झौता गरी आन्दोलन शुरु गरेका होइनौं, कति महिनासम्म लाग्छ हामी आन्दोलन जारी राख्छौं ।” स्वतन्त्र समाचार

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्