खोटाङस्थित साकेला गाउँपालिकामा अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ ।
नेकपा माओवादी केन्द्रबाट अर्जुनकुमार खड्का, मंगोलन नेशनल अर्गनाइजेसनबाट कवी राई, नेकपा एमालेबाट गोपीकृष्ण खड्का र नेपाली कांग्रेसबाट रविप्रकाश राईले उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएका खड्का दोस्रो कार्यकाल अध्यक्ष बन्नका लागि उम्मेदवार बनेका हुन् ।
साकेला गाउँपालिकामा माओवादी केन्द्र, एमाले र कांग्रेसका उम्मेदवारबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
२०७४ सालको निर्वाचनमा अध्यक्ष माओवादीबाट, उपाध्यक्ष कांग्रेसबाट र गाउँपाकिलामा रहेका पाँच वटा वडामध्ये दुई वटा वडामा एमाले, दुईवटामा कांग्रेस र एक वटामा माओवादी केन्द्रले जितेको थियो ।
माओवादीबाट उम्मेदवार दिएका खड्का पार्टीको गाउँपालिका कमिटी अध्यक्ष अध्यक्ष हुन् । एमालेबाट उम्मेदवार दिएका खड्का भने गाउँपालिकाका इन्चार्ज हुन् भने कांग्रेसबाट उम्मेदवारी दिएका राई कांग्रेसको महासमिति सदस्य हुन् ।
यसैगरी उपाध्यक्षमा जनता समाजवादी पार्टीबाट जयकुमार राई, एमालेबाट दिलकुमारी राई, माओवादी केन्द्रबाट बिर्सिका राई र कांग्रेसबाट सरिता खड्काले उम्मेदवारी दिएका छन् ।
कांग्रेसबाट उपाध्यक्षमा उम्मेदवारी दिने खड्का पनि दोस्रो कार्यकालका लागि उपाध्यक्ष बन्न उम्मेदवार बनेकी हुन् ।
माओवादी केन्द्रबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी राई अघिल्लो निर्वाचनमा पनि पार्टीको तर्पmबाट उपाध्यक्षको उम्मेदवार बनेकी थिइन् । तर उनी पराजित भएकी थिइन् ।

