सरकारले मजदुरहरुको लागि छुट्टै आवास निर्माण गर्नैपर्छ : जसपा नेता खतिवडा

६० वर्ष पुगेपछि मजदुरहरुलाई पनि पेन्सन दिऊ

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाले मजदुरहरुका लागि सरकारले ‘मजदुर आवास’ निर्माण गर्नैपर्ने बताएका छन् ।

१३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार जसपा नेपाल मजदुर विशेष जिल्ला समितिले काठमाडौंको जोरपाटीमा आयोजना गरेको कार्यक्रममा नेता खतिवडाले सरकारले सस्तो कोठाभाडा हुने गरी मजदुरहरुका लागि छुट्टै आवास निर्माण गर्नैपर्ने बताएका हुन् ।

‘मजदुरहरु देशको विभिन्न ठाउँबाट सहरमा आएर रोजगारी गरिरहनुभएको छ । सरकारले तोकेको न्यूनतम ज्याला मुस्किलले दश–पन्ध्र हजार छैन । तर, काठमाडौंमा राम्रो डेराभाडामा बस्ने हो भने त्यसले डेराभाडा तिर्नमात्रै पनि पुग्दैन भने खाने के ? बच्चा कसरी पढाउने ? बिरामी हुँदा के गर्ने ? यो कुरा सरकार चलाउनेहरुले सोच्नुपर्छ कि पर्दैन ? उनले भने, ‘मजदुर कोलोनीको सिद्धान्त नेपालमा हामीले सुरुवात गर्नैपर्छ । मजदुरहरुलाई उनीहरुको रोगजारदाताको छेउछाउमा वा जागिरको छेउछाउमा तुलनात्मक रुपमा सस्तो आवासको मजदुर कोलोनीको कन्सेप्ट सरकारले अगाडि बढाउनैपर्छ ।’

उनले मजदुरहरुले पाउने न्यूनतम ज्याला पनि बजार मूल्यअनुसार वार्षिक रुपमा पुनरावलोकन हुनैपर्ने बताए ।

उनले भने, ‘तपाईंले दिनभरि काम गरेर पाउने पैसा साँझ तपाईं बजारमा पुग्दा तरकारी, दाल र चामल किन्दै सकियो भने बाँकी चिज तपाईं कसरी गर्नुहुन्छ ? बचत कसरी गर्नुहुन्छ, तपाईं भोलि बुढो भएपछि काम गर्न नसक्ने भएपछि बाँकी जीवन बिताउनुपर्यो भने या विरामी हुनुभयो भने कसरी बिताउनुहुन्छ ?’

उनले ६० वर्ष पुगेका देशका सबै नागरिकलाई राज्यले पेन्सन दिने व्यवस्था गर्नुपर्ने पनि बताए ।

सेना, पुलिस, शिक्षक, प्राध्यापक, अधिकृत, खरदार, सुब्बाजस्ता सरकारी कर्मचारीहरुले ६० वर्षपुगेपछि पेन्सन पाउने तर देश बनाउन उत्तिकै सहयोग गर्ने मजदुरहरुले चाहिँ किन पेन्सन नपाउने भन्दै उनले भने, ‘के सरकारी मान्छेहरुले मात्र काम गरेर देश बन्छ ? सडकहरु जति बनेका छन्, देशको विकास निर्माणहरु जति भएका छन्, त्यो सरकारी कर्मचारीहरुले मात्रै गरेर भएको हो कि मजदुरहरुले पनि काम गरेर भएको हो ?’

उनले धनीका छोराछोरीहरु चाहिँ निजी स्कुलमा पढेर गुणस्तरीय शिक्षा लिने तर गरिब र मजदुरका छोराछोरीहरु चाहिँ पढाइ राम्रो नहुने सरकारी स्कुलमा पढ्न बाध्य भइरहेको भन्दै अब एकैखालको शिक्षा प्रणाली हुनुपर्ने बताए ।

’यदि हामी प्राइभेट स्कुल र पब्लिक स्कुलको शिक्षाको गुणस्तरमा भिन्नताको गर्छौ भने निजी स्कुलमा अंग्रेजीमा पढाउँछौं, सरकारी स्कुलमा चाहिँ नेपालीमा पढाउँछौं, निजी स्कुलमा कम्युटर सिकाउँछौं, सरकारी स्कुलमा कम्युटर सिकाउँदैनौ, निजी स्कुलमा रंगिन गाता भएको मोटो किताब दिन्छौं, सरकारी स्कुलमा चाहिँ फ्यालफ्याले गाता भएको च्यातिने किताब बाँड्छौं भने त्यो शिक्षाले के गरिरहेको हुन्छ भने गरिबको बच्चालाई अर्को पुस्तामा पनि फेरि गरिब बनाउन खोजिरहेको हुन्छ, ’नेता खतिवडाले भने, ‘अब हामीले त्यो षडयन्त्र सहनु हुँदैन, हामीलाई एकैखालको शिक्षा चाहियो, दुईखालको चाहिएन ।’

सो क्रममा उनले भारतको दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले जस्तोसुकै विमारको पनि निःशुल्क उपचार गर्ने व्यवस्था गरेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि अब समाजवादको गफ गर्ने नेताहरुलाई नेपाल कहिले समाजवादी राज्य हुन्छ ? कहिले मजदुरमुखी राज्य हुन्छ ? भनेर प्रश्न गर्नुपर्ने बताए ।

जसपा नेपाल मजदुर विशेष जिल्ला समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा समाजवादी गलैचा श्रमिक संघका अध्यक्ष सुरेश मोक्तानले स्वागत मन्तव्य राखेका थिए ।

सो क्रममा उनले पार्टीहरुले पनि मजदुरहरुलाई खाली आन्दोलनका बेला मात्रै सडकमा हिडाउने गरेको गुनासो गरे ।

कार्यक्रममा प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल, समाजवादी सांस्कृतिक महासंघका उपाध्य रमेश खड्का र घटक संघहरुको तर्पmबाट समाजवादी पेन्टर श्रमिक संघका अध्यक्ष डिबी सरोज राई, समाजवादी गार्मेन्ट टेक्स्टाइल एम्ब्रोइडरी तथा सिलाइ श्रमिक संघका अध्यक्ष प्रकाश तिमसिना, समाजवादी फर्निचर श्रमिक संघका अध्यक्ष बलबहादुर भुजेल, समाजवादी निर्माण श्रमिक संघका उपाध्यक्ष किशोर राई लगायतले शुभकामना दिएका थिए ।

घटक संघका प्रतिनिधिहरुले पार्टीको ट्रेड युनियन महासंघले जानकारी नै नदिइ केही घटक संगठनहरुलाई महासंघको आबद्धताबाट हटाएकोमा आपत्ति समेत जनाएका थिए ।

भक्तपुर, ललितपुर र काठमाडौंको कपन तथा जोरपाटीबाट जम्मा भएको मजदुरहरुको र्याली जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आएर मजदुर सभामा परिणत भएको थियो ।

समाजवादी औद्योगिक श्रमिक संघका अध्यक्ष प्रकाश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा गायक मोहन मादेन, शम्भु लिम्बू र तुलसा लिम्बूले पार्टीसम्बन्धी विभिन्न गीतहरु पनि प्रस्तुत गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्