खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नवनिर्वाचित प्रमुख तीर्थराज भट्टराईले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धताअनुसार आफ्नाे सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख भट्टराईले आइतबार कार्यालयमै पत्रकार सम्मेलन गरी सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
प्रमुख भट्टराईले आफ्नाे नाममा, श्रीमतीको नाममा र आमाको नाममा रहेको घरजग्गा, सुनचाँदी, नगद र उद्योग तथा व्यवसाय सार्वजनिक गरेका हुन् ।
जसअनुसार नगरपालिकाकाे वडा नं ७ दोर्पामा उनको नाममा १६ रोपनी जग्गा, आमाको नाममा ३ रोपनी जग्गा, भक्तपुरमा श्रीमतीको नाममा ९ आना २ पैसा जग्गा, उदयपुरको रामपुरमा श्रीमतीको नाममा साढे दुई कट्ठा जग्गा, दिक्तेलमा साढे ६ आना जग्गामा बनाइएको ८ कोठे दुईतले काठको घर, सुन साढे सात तोला, चाँदी १६ तोला, राष्ट्रिय वाणिज्य बैंकमा ८० हजार नगद, डिल्लीबजार काठमाडौंमा हलो हलेसी अफसेट प्रेस, दिक्तेलमा थुक्पा उद्योग र ग्लोबल आईएमई बैंकको सात लाख ५० हजार ऋण रहेको छ ।
सम्पत्ति विवरण सार्वजनिक गर्दै प्रमुख भट्टराईले आफू शासक नभएर जनताको सेवक बन्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
‘हरेक मानिसका केही मूलभूत मूल्य र मान्यताहरु हुन्छन् । त्यसैले जब २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मैले चार दलीय गठबन्धनको तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुखको उम्मेदवार हुने सौभाग्य पाउनुलाई मैले नागरिकको सेवा गर्ने अत्यन्तै ठूलो अवसर पाएको महसुस गरेको थिएँ भने सँगै आफ्नाे निष्ठा, आदर्श र कर्तव्य परायण भई सेवाबाट च्युत नभई जनजनको मनमनमा छिरेर सेवक हुनु कि विगतका केही जनप्रतिनिधिझैं शासक हुने भन्ने चुनौती,’ भट्टराईले विज्ञप्तिमा लेखेका छन्, ‘त्यसैले म आजको यस पत्रकार सम्मेलनमार्फत नगरप्रमुखको जिम्मेवारी निर्वाह गरिरहँदा साहव हैन सेवकको रुपमा आफूलाई उभ्याउने सार्वजनिक प्रतिवद्धता प्रकट गर्दछु ।’
केहीले राजनीतिलाई सामाजिक सेवा नभएर कमाउने उद्योग बनाउँदा त्यसले समग्र राजनीतिकर्मीलाई नै बदनामी गरेको पनि उनको भनाइ छ ।
आफूलाई इमान्दार र निष्ठावान नेताको रुपमा प्रस्तुत गर्दै प्रमुख भट्टराईले अब परिवर्तनको सुरुवात आफूले नै गर्ने पनि उल्लेख गरेका छन् ।