गुगल अर्थबाट देखिएकाे धरान

अधिवक्ता तथा नेपाल राष्ट्र निर्माणका अभियान्ता किवाङ हाङ राईले धरान उपमहानगरकाे पूर्व र पश्चिममा रहेको सेउती र सर्दु खोलाको बगरलाई सुन्दर तालको रुपमा परिणत गर्ने योजना अघि बढाउन नवनिर्वाचित नगरप्रमुख हर्क साम्पाङलाई सुझाव दिएका छन् ।

सेउती र सर्दुबाट जथाभावी गिटी–बालुवा निकाल्न नदिने पक्षमा रहेका नगरप्रमुख साम्पाङलाई वर्षेनी बर्खाको बाढीले ल्याउने गिटी–बालुवा निकालेर बेचेर उपमहानगरकाे राजश्व बढाउन तथा बगरको बिचमा ताल बनाएर सुन्दर पर्यटकीयस्थल बनाउन अधिवक्ता राईले सुझाव दिएका हुन् ।

‘तपाईंजस्तै म पनि एउटा अभियान्ता हुँ,’ आफ्नाे युट्युब च्यानलमार्फत अधिवक्ता राईले भने, ‘गत वर्ष तपाईंले आन्दोलन चलाइरहँदा तपाईंको सहयोगी राजेश खिम्दुङको टाउको फुट्यो, कुटाइ खाए तपाईंका समर्थकहरुले । त्यसबेला मैले एउटा लेख लेखेको थिएँ । गिटी–बालुवा जो वर्षेनी बाढीले ल्याउँछ त्यो नझिकेर के गर्नुहुन्छ ? गिटी–बालुवा थुपारिरहँदा प्राकृतिक स्रोध-साधन जस्ताको तस्तै रहन्छ र ? त्यो बालुवा र गिटी भनेको झिक्ने हो । तर कसरी झिक्ने हो भने त्यसबाट अधिकतम् कर असुल गर्ने हो र उचित मूल्यमा विक्री गर्ने हो ।’

धरानकाे पश्चिममा रहेकाे सर्दुकाे बगर । तस्बिर गुगल अर्थ

उनले दुवै खोलाको बिचबाट गिटी र बालुवा झिक्ने र खोलाको दुवै किनारामा पर्खाल लगाएर रुख रोप्नुपर्ने बताए । खोलाको बगरमा २० फिट तलसम्म गिटी–बालुवा निकाल्ने र त्यसमा सिमेन्टेड गरी ताल बनाउनुपर्ने उनले सुझाव दिए ।

‘तपाईं जस्तै म पनि एउटा अभियान्ता हुँ । तपाईं हाम्रो बिचमा केही पटक छलफल भएको छ । खोलाबाट गिटी–बालुवा नझिक्ने, झिक्न परेमा धरान उपमहानगरपालिका आफैले झिक्ने भन्ने जुन यहाँको विचार छ, त्यो कति व्यवहारिक छ भन्ने कुरा आफ्नाे ठाउँमा होला,’ उनले भने, ‘तर सर्दु खोला र सेउती खोलालाई ताल बनाउने भारी बात होइन । वर्षको दश महिना बिना पानी रहने बगरलाई त्यहाँको बालुवा र गिटी निकालेर ताल बनाउनु ठुलो कुरो होइन ।’

किवाङ हाङ राई

उनले धरान सहरको दुवैतिर सुन्दर ताल बनाउने र सो तालको आसपासमा रेस्टुरेन्ट, स्विमिङ पुलजस्ता पर्यटकीय संरचना निर्माण गर्नुपर्ने बताए ।

उनले सेउती र सर्दुमा मात्रै नभएर देशभरकै तराईमा रहेका बगरहरुलाई तालको रुपमा परिणत गरी ती तालको पानीले सिंचाइ गर्ने प्रणालीको विकास गर्नुपर्ने धारणा राखे ।