लोकप्रिय कवि तथा लेखक उपेन्द्र सुब्बाले पहिचानको आन्दोलन सही नै भएको तर अभ्यास र बुझाइ चाहिँ गलत भएको बताएका छन् ।
चलचित्र कबडी–४ प्रदर्शनको क्रममा सो चलचित्रकी नायिका मिरुना मगर र दर्शक फुर्वा तामाङबीच भएको विवादको विषयलाई लिएर ‘पहिचानको आन्दोलन गलत रहेछ’ भन्ने आशयसहितको अभिव्यक्ति दिएपछि विवादमा परेका सुब्बाले हालै इन्डिजिनियस टेलिभिजनसँगको अन्तर्वार्तामा यो कुरा बताएका हुन् ।
कबडी–४ का लेखक समेत रहेका सुब्बाले मिरुना मगर र फुर्वा तामाङबीच मिलापत्र भइसक्दा समेत दुवै समुदायकाे व्यक्तिहरुकाे बीच आरोप–प्रत्यारोप तथा विवाद नरोकिएपछि पहिचानको आन्दोलनले ‘समाज कुरुप बनेको’ भन्दै फेसबुक स्टाटस लेखेका थिए ।

अन्तर्वार्ताको क्रममा उनले त्यसबेला फेसबुक स्टाटसमा पहिचानको आन्दोलन सही भए पनि अभ्यास र बुझाइ गलत रहेको कुरा राम्रोसित बुझाउने गरी लेख्न नसकेको स्वीकार गरे ।
‘नेपालमा पहिचानको जुन अभ्यास छ, हामी जे कोसिस गरिराखेका छौं, जे कुरा बुझिरहेका छौं वा बुझाउन खोजिरहेका छौं, त्यो गलत छ, हाम्रो अभियान चाहिँ गलत छ,’ उनले भने, ‘यसले हाम्रो जातीय अहंकार मात्रै बढायो, हामीले पहिचान खोजिरहेको दोस्रो समूह वा समुदायलाई चाहिँ उनीहरुको पहिचानमाथि नै धावा बोलिरहेका छौं । कमसेकम पहिचान मागिरहने एउटा समुदायले अर्को समुदायलाई निषेध गर्नु हुँदैन भन्ने मात्रै हो ।’
त्यसबेला भावावेगमै उक्त स्टाटस लेखेको प्रष्ट पार्दै सुब्बाले भने, ‘मैले भावावेगमा लेखेँ अथवा मेरो शब्दको पकड भएन या बुझाउन जानिनँ या मलाई लेख्नै अल्छी लाग्यो र लेखेको विषयमा चाहिँ साह्रै धेरैले रियाक्ट गरे ।’
हिमालखबर डटकममा आएको आफ्नाे लेखबारे पनि उनले पत्रकारले फोन सम्पर्क गरेको बेला तनावकै बिचमा कुरा गरेको र सोही आधारमा लेख तयार पारिएको बताए ।
उनले पहिचानवादीहरु निकै संकिर्ण र विभाजित भएको दोहोर्याए । उनले पहिचानवादीहरुकै कारण लिम्बुवान प्रदेश प्राप्तिको आन्दोलन बिसर्जनको अवस्थामा पुगेको समेत बताए ।
’पहिचानवादी हुँ’ भन्ने अन्य समूहद्वारा लिम्बुवानको आन्दोलन बिसर्जन भएको उनको भनाइ छ ।
‘२००७ सालमा लिम्बुहरुले बिद्रोह गरे, जातीय उग्रता भनौं त्यतिखेर केही बाहुन–क्षेत्रीहरु खेदाइए पनि लिम्बुवानदेखि,’ उनले थपे, ‘२०३५–०३६ सालसम्म वीर नेम्वाङहरुले लिम्बुवान भन्दै गरे । २०६३ सालसम्म त लिम्बुवानले साह्रै ठुलो आन्दोलन बनाइसकेको थियो । त्यो आन्दोलन राज्यद्वारा हैन, पहिचानवादीहरुद्वारा नै बिसर्जन गरियो । लिम्बुवानको आन्दोलन पहिचानवादी अन्य समूहद्वारा नै बिसर्जन भएको स्थिति हो ।’
उनले किरात प्रदेशको सवालमा पनि पहिचानवादीहरु एकजुट हुन नसकेको बताए ।
‘मलाई लागेको के हो भने लिम्बुवान त स्वीकार भएन । २०३५–०३६ सालसम्म पल्लो किरात वल्लो किरात थियो, हाम्रो पहिचान थियो नि,’ उनले भने, ‘अहिले किरातको सवालमा पनि एकजुट हुन सकेको छैनौं । हामी पहिचानवादीहरु नै जोजो आदिवासी हौं हामीलाई पहिचान चाहियो भन्नेहरु नै एउटा प्रदेशको नामसम्म राख्न नसक्ने स्थितिमा छौं ।’



