जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाले परिवर्तनको ठूलाठूला मुद्दा उठाउने जसपाले नै जनताले पत्याउने खालको कुनै काम नगरेको बताएका छन् ।
मान्छेले अब पार्टीको दस्तावेज पढेर वा नेताको भाषण सुनेर भोट नदिने भन्दै उनले मान्छेले पत्याउने खालकाे काम पार्टीभित्र लागू गरी ‘डेमो’ देखाउन नसकिएको बताए ।
‘भोलि राज्यमा आयौं भने समावेशी राज्य बनाउँछु, सुशासित राज्य बनाउँछु, पारदर्शी राज्य बनाउँछु, डाइरेक्ट डेमोक्रेसी गर्छु, समानुपातिक निर्वाचन प्रणाली गराउँछु आदि ईत्यादि हामी मुद्दा भन्छौं । यो मुद्दा अहिले हामी राज्यमा लागू गर्न सक्दैनौं, किनकि हाम्रो संविधानले दिँदैन र संविधान फेर्ने तागत हामीसँग छैन । तर पार्टीभित्र लागू गर्न कसले रोक्छ ?,’ नेता खतिवडाले भने, ‘भोलि हामीले राज्य कस्तो बनाउने हो ? समाज कस्तो बनाउने हो ? आज पार्टीमा त्यस्तो बनाएर देखाउदिऊ । भोलि हामी संविधान संशोधन गरेपछि पूर्णसमानुपातिक संसद बनाउला, आज हामी पूर्ण समानुपातिक केन्द्रिय कमिटि बनाएर देखाउ न । भोलि हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाएर देखाउला, आज हामी पार्टीभित्र प्रत्यक्ष निर्वाचित अध्यक्ष बनाएर देखाउ न । अनि मान्छेले पत्याउँछन् यिनीहरु जे भन्दैछन् त्यो राज्यमा गर्न सकिरहेको छैन तर कम्तिमा आफ्नाे पार्टीभित्र त गरिरहेका छन् भनेर ।’
उनले जसपालाई मात्रै नभएर मान्छेहरुले अहिले सबै धारको पार्टीहरुलाई पत्याउने काम गरेर देखाउन भनिरहेको बताए ।
जसपाका नेताहरुले जनताले पत्याउने काम गर्न नसकिरहेको तथ्य स्वीकार गर्नुपर्ने खतिवडाको भनाइ छ ।
लोकतन्त्रमा राज्य बनाउने मुख्य आधार पार्टीहरु नै रहेकोले पार्टीहरु नै लोकतान्त्रिक र उदाहरणीय हुनुपर्नेमा उनले जोड दिए ।
सो क्रममा उनले स्वतन्त्रबाट निर्वाचित भएको नेतृत्वले विश्वको कुनै पनि मुलुक बनाएको उदाहरण नभएको बताए ।
हिजो जसपा गोरखा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंको बनस्थलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता खतिवडाले यी कुरा बताएका हुन् ।
सो कार्यक्रममा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि थिए ।