विजय चाम्लिङ
खोटाङको साकेला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९–८० का लागि कूल ३४ करोड ५६ लाख ८२ हजार ३१० रुपैयाँ बजेटसहितको नीति तथा कार्यक्रम ल्याएको छ ।
देशका अन्य गाउँपालिका वा नगरपालिका जस्तै यो गाउँपालिकाको बजेट तथा कार्यक्रम पनि पूर्णतः संघीय सरकार र प्रदेश सरकारले विभिन्न शीर्षकमा दिने अनुदानमा निर्भर छ ।
गाउँपालिकाले आफ्नै स्रोतबाट भने राजश्व स्वरुप यसवर्ष १७ लाख ४५ हजार संकलन गर्ने लक्ष्य लिएको छ ।
गाउँपालिकाले संघीय सरकारबाट
वित्तीय समानीकरण अनुदान बापत ७ करोड ९९ लाख,
राजश्व बाँडफाटबापत ६ करोड १३ लाख
ससर्त अनुदान १३ करोड ७ लाख
र विशेष अनुदान १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
यसैगरी प्रदेश सरकारबाट
वित्तीय समानीकरण अनुदानबापत ४० लाख ८६ हजार,
सवारी कर बाँडफाटबापत २६ लाख ९१ हजार,
प्रदेश समपुरक अनुदानबापत १ करोड
र प्रदेश ससर्त अनुदान ४५ लाख ७९ हजार प्राप्त हुने अनुमान गरेको छ ।
गाउँपालिकाले चालु आवमा प्राप्त हुने विभिन्न अनुदान, राजश्व संकलनबाट प्राप्त हुने रकम, गत आवको पुँजीगत बजेट खर्च हुन नसकेर बाँकी रहेको १ करोड ६१ हजार र स्विट्जरल्यान्ड सरकारको दातृसंस्था स्विस विकास सहयोग नियोग (एसडिसी) बाट प्राप्त हुने १ करोड २५ लाख रुपैयाँको आधारमा बजेट तथा कार्यक्रम निर्माण गरेको छ ।
सो बजेटबाट गाउँपालिकाले ६ करोड ५७ लाख ४९ हजार चालु खर्चका लागि छुट्याएको छ भने पालिकास्तरीय पुँजीगत खर्चका लागि ८ करोड ३८ लाख ८६ हजार छुुट्याएको छ ।
बाँकी रकम भने विषयगत, वडास्तरीय, शीर्षकगत र विषयगत शाखाबाट खर्च गर्ने गरी बजेट ब्रेकडाउन गरेको छ ।