भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले डिजिटल सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) ट्रायल परीक्षा पास गरेकै दिन वा भोलिपल्ट पाउने गरी व्यवस्था मिलाउन लागेको बताएका छन् ।
सवारी चालक अनुमतिपत्रको ट्रायल पास गरेपछि लाइसेन्स लिन लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न लागेको उनको भनाइ छ ।
गत असार २० गते पदभार ग्रहण गर्दै मन्त्री राईले स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको समस्या समाधानबारे १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी अध्ययन समिति गठन गरेका थिए ।
आज मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री राईले समितिको प्रतिवेदन आउन लागेको र अब ट्रायल पास गरेकै दिन वा भोलिपल्टसम्ममा लाइसेन्स पाउने गरी व्यवस्था मिलाउन लागेकाे बताए ।
सो क्रममा उनले सातै प्रदेशमा स्मार्ट लाइसेन्स छाप्ने व्यवस्था गर्न लागेको पनि जानकारी दिए ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको एकठाउँ, गण्डकी र लुम्बिनीको एक ठाउँ र मधेस र प्रदेश नं १ को एकठाउँ गरी सातै प्रदेशमा लाइसेन्स छाप्ने तयारी गरिएको उनको भनाइ छ ।
उनले स्मार्ट लाइसेन्स रिडिङ गर्ने मेसिन पनि प्रत्येक ट्राफिक प्रहरीलाई उपलब्ध गराउने र ट्राफिक जरिबाना अनलाइनबाटै बुझाउने व्यवस्था कार्यान्वयनमा ल्याइने बताए ।
सो क्रममा उनले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै छपाइ हुन सक्ने संकेत गरे ।
उनले भने, ‘इम्बोस्ड नम्बरको बारेमा पनि सम्भवतः एक दुईदिनभित्रै सुखद समाचार सुन्नुहुने छ ।’

मन्त्री राई र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच आज काठमाडौं महानगर क्षेत्रको सडक तथा ट्राफिक व्यवस्थापन सहज बनाउनेबारे मन्त्रालयमा छलफल भएको थियो ।
जसमा प्रमुख साहले सबै सार्वजनिक सवारी साधनहरुको अनुगमन गर्नका लागि जिपिएस सिस्टम जडान गर्ने तयारी गरिएको बताएका थिए भने मन्त्री राईले त्यसमा प्राविधिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
मन्त्री राईले काठमाडौं उपत्यकाको लगभग ४०० किलाेमिटर सडक मन्त्रालयको मातहत रहेको भन्दै ती सडकमा देखिने मर्मतसम्हारदेखि ढल लगायत व्यवस्थापनको काम समन्वय गरेर तत्काल समाधान गरिने बताए ।

