पहिचान आन्दोलन सफल बनाउन चलचित्र प्रभावकारी हुने : मन्त्री श्रेष्ठ

नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आदिवासी जनजातिको पहिचान आन्दोलन सफल बनाउन चलचित्रले प्रभावकारी भूमिका खेल्ने बताएका छन् ।

२८ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघ र राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) द्वारा संयुक्त रूपमा आयोजित आदिवासी चलचित्र प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको उद्घाटनगर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

मन्त्री श्रेष्ठले एउटा चलचित्रमा समावेश हुने विषयवस्तु, संवाद र पात्रको नामले मानिसको सोच, सामाजिक व्यबहार र ठाउँको नाम समेत परिवर्तन भएका उदाहरणहरू भेटिएकाले आदिवासी जनजातिको पहिचान, अस्तित्व र आन्दोलनलाई सशक्त बनाउन सावधानीपूर्वक चलचित्र निर्माण गर्न आदिवासी चलचित्रकर्मीहरुलाइ आग्रह गरे ।

कार्यक्रमका विशेष अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषदका अध्यक्ष गेल्जे लामा शेर्पाले अबको आदिवासी आन्दोलन फरक, बहुआयमिक र अझ सशक्त हुने बताए । सफल आन्दोलनको मानक सडक आन्दोलनलाई मात्रै मान्न नहुने बताउँदै अध्यक्ष शेर्पाले अब चलचित्रकर्मी, सांस्कृतिककर्मी, महिला, युवा, पत्रकार, प्राज्ञिक व्यक्ति र विभिन्न पेशा व्यवसायका व्यक्तिहरूलाइ अधिकार स्थापित गराउन सकृय बनाउने महासंघको रणनीति रहेको बताए ।

उनले जनजाति आयोग र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानलाई सरकारले बजेट बिहीन र अधिकार विहीन बनाएको आरोप लगाए । “अब जनजाति मन्त्रालयको माग राखेर जनजाति महासंघले आन्दोलन गर्नेछ” अध्यक्ष शेर्पाले बताए ।

आदिवासी समाज मातृसत्तामा आधारित समाज भएकाले आदिवासी ज्ञानको संरक्षण र त्यसैगरी, पुस्तान्तरणमा यस समुदायका महिलाको भूमिका अहम् हुने बताउँदै आदिवासी जनजाति महिला महासंघका महासचिव शान्ति देवान, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाले २८ औं विश्व आदिवासी जनजाति दिवसको नारा महिलामा केन्द्रित रहेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै आयोजक आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय उपाध्यक्ष अमरध्वज लामा, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लागयतले आदिवासी जनजाति समुदायको भाषा र विषय वस्तुमा बनेका चलचित्रको व्यावसायिकरणमा देखिएका समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित सो कार्यक्रममा नेवारी, तामाङ, थामी, थारू, सुनुवार समुदायका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै गुरूङ भाषामा निर्मित सांस्कृतिक चलचित्र ‘मि न्होर्वे ट’ प्रदर्शन गरिएको थियो ।

आदिवासी जनजाति महासंघ र सम्बन्धनप्राप्त विभिन्न ७ वटा आदिवासी जनजाति संस्थाहरूले सप्ताहव्यापी कार्यक्रम गर्दै २८ औं विश्व आदिवासी दिवस मनाईरहेका छन् । यसै क्रमाम राष्ट्रिय आदिवासी जनजति महिला महासंघले साउन २१ गते बिहान ८ बजे अल्फाहाउस नयाँबानेश्वर काठमाडौंमा ‘आदिवासी जनजाति ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।

साउन २१ गतेनै मगर संघले दिउँसो १ बजे काठमाडौंको ज्ञानेश्वरस्थित लिसरा रिसेप्सनमा ‘मगरात सभ्यतामा पहिचानको आधार’ विषयमा विचार गोष्टी आयोजन गर्ने भएको छ ।

सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले साउन २३ गते दिउँसो १ बजे ‘आदिवासी जनजाति आन्दोलनको समीक्षा र अबको कार्यदिशा’ विषयक अन्तरक्रिया गर्ने भएको छ । फोनिजले सो अन्तरक्रिया काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा आयोजना गर्ने बताएको छ ।

२८ औं आदिवासी जनजाति दिवस मूल समारोह समितिको कार्यक्रम भने साउन २४ गते मध्यान्ह १२ बजे नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीमा आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सो समारोह गरिने छ । विश्वभरका आदिवासीहरुले हरेक वर्षको अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएको छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्