एकै दिन ७२८ स्थानमा डढेलो

डोटीको तितला सामुदायिक वनमा फागुन दोस्रो साता डढेलो लाग्यो । सामुदायिक वनका संरक्षकहरू हतारमा आगो निभाउन वन नजिक पुगे ।

अत्याधुनिक मेसिन र उपकरण थिएन । हातले माटो, स्याउला जे–जे भेट्यो त्यसैले निभाउन थालियो । त्यही क्रममा आगो निभाइरहेका लछ्छी भुललाई आगोको लपेटाले भेट्यो । आगोले पोलेर घाइते हुनुभएका उहाँको फागुन ११ गते मृत्यु भएको सामुदायिक वन उपभोक्ता महासङ्घले जनाएको छ  ।

चैत १२ गते गोरखाको सातदोबाटो सामुदायिक वनको आगो निभाउन पुग्नुभएका मोहन फेवाली पनि जोगिन सक्नुभएन । वन जोगाउन आगो निभाउँदा निभाउँदै उहाँको ज्यान गयो । यही चैत १३ गते तेह्रथुमकी नरमाया भण्डारीको स्थानीय वनमा लागेको डढेलो निभाउने क्रममा ज्यान गयो ।

नेपालमा पछिल्लो समय यसरी नै मानिसको ज्यानै लिने डढेलो फैलिँदै गएको छ । विभिन्न वन क्षेत्रमा बढ्दो क्रममा रहेको डढेलोबाट मृत्यु हुनेको यकिन तथ्याङ्क सङ्कलन हुने क्रम जारी छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घको प्रत्यक्ष निगरानीमा सङ्कलन गरिएको तथ्यअनुसार गएको माघ १ गतेयता डढेलो निभाउन गएका व्यक्तिको मृत्यु भएको हो । डढेलोमा परेर अछाममा तीन र हुम्लामा चार जना घाइते भएका छन् । उनीहरूको अझै उपचार भइरहेको महासङ्घका क्षेत्रीय संयोजक तुलसी अधिकारीले जानकारी दिनुभयो ।

यसरी नै मानिसको ज्यान लिने गरी २०६६ सालमा नेपालमा डढेलो लागेको थियो । त्यो बेला ४९ जनाको यसरी नै आगो निभाउने क्रममा ज्यान गएको थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता हालसम्म दुई हजार ३१३ वटा डढेलोसहितका भौतिक आगलागीका घटना भएका छन् ।

जसमा परेर ८६ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३५५ जना घाइते भएका छन् । यी घटनाका कारण एक अर्ब ७० लाख रुपियाँभन्दा बढीको नोक्सान भएको प्राधिकरणले जनाएको छ । गाेरखापत्र

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्