मातृभाषामा बायुङ कि बाहिङ लेख्ने? राष्ट्रिय तथ्यांक कार्यालयमा छलफल

काठमाडौं । गत वर्ष सञ्चालन गरिएको ‘राष्ट्रिय जनगणना–२०७८’ को तथ्यांक सार्वजनिक गर्नुअघि राष्ट्रिय तथ्यांक कार्यालयले मातृभाषा जनाउने शब्दावलीहरुमा देखिएका विवादको हल गर्ने प्रयास गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार किरात बायुङ राई सुम्निखिम र किरात बाहिङ मुलुखिमका पदाधिकारी तथा प्रतिनिधिहरुलाई कार्यालयमै बोलाएर छलफल गरेको हो ।

किरात बायुङ राई सुम्निखिमका प्रतिनिधिहरुले आफूहरुलाई राई जातिभित्रको ‘बायुङ राई’ भन्दै आएका छन् भने किरात बाहिङ मुलुखिमका प्रतिनिधिहरुले ‘राई’ पृथ्वीनारायण शाहले दिएको पद्वी भएकोले राई जाति नहुने तर्क गर्दै आफूहरु ‘बाहिङ जाति’ हौं भन्दै आएका छन् ।

सुम्निखिमले जातिमा ‘राई’ र मातृभाषामा ‘बायुङ’ लेख्नु नै माैलिकता हुने जिकिर गरेकाे छ भने मुलुखिमले जाति र मातृभाषा दुवै ‘बाहिङ’ हुनुपर्ने तर्क गर्दै आएकाे छ ।

तथ्यांक सार्वजनिक गर्दा मातृभाषामा बायुङ कि बाहिङ लेख्ने भन्ने अन्योल सिर्जना भएपछि राष्ट्रिय तथ्यांक कार्यालयले दुवै संस्थाका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेकाे हाे ।

किरात बायुङ राई सुम्निखिमका अध्यक्ष ज्ञान बायुङ राईले लिखित दस्तावेजहरुका आधारमा ‘बायुङ’ शब्द नै सही भएको जिकिर गरे ।

उनले सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुरलगायत जिल्लामा रहेका ४० वर्षमाथिका बायुङ राईहरुलाई सोध्ने हो भने उनीहरुले आफूहरुलाई बायुङ राई नै भन्ने गरेकाे स्मरण गराए ।

सुम्निखिमका महासचिव युवराज राईले नेपालमा मात्रै नभएर संसारभरि नै एक जाति बहुभाषी समुदाय रहेको भन्दै सत्य र मौलिक पहिचान खोज्न सधै लागिरहने बताए ।

किरात बाहिङ मुलुखिमका महासचिव धीरेन बाहिङले आफूहरु राई जाति नै नभएको भन्दै बाहिङ जाति र बाहिङ शब्दबाटै अगाडि बढ्ने स्पष्ट पारे ।

उनले राई जाति हो भने राईको भाषा के हो ? भन्दै प्रश्न गरे ।

राष्ट्रिय तथ्यांक कार्यालयका महानिर्देशक नेविनलाल श्रेष्ठले मौलिक नामको बारेमा समुदाय आफैं मिल्नुपर्ने भन्दै फेरि पनि छलफल गर्दै समाधानको बाटोमा जानुपर्ने बताए ।

राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन गरिएको जनगणनाको विवरण चाडै सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

2 COMMENTS

  1. ‘राई !’ मात्रै राख्दा राम्रो होला । किनभने ‘बायुुङ राई !’ राख्दा त ‘राई !’ को भीड र संख्या बढ्दैन क्यारे ? मेरो सुझाव मात्रै हौ हजुरहरु…!?

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्