ब्रिटिश गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित गरिए उनीहरु राज्यविहीन मात्रै नभएर देशलाई नै ठुलो क्षति हुने ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान, बेलायत-नेपाल (बीजीएनसीसीसी युके-नेपाल)का संयोजक सुनबहादुर तामाङले बताएका छन् ।
उनले आइतबार संवाद डबलीमा पत्रकार सम्मलेन गरेर संविधानमै ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकताको सुनिश्चितता गर्नुपर्ने माग राखे ।
तामाङले कानुनमै ‘कुनै पनि नेपाली नागरिकले स्वेच्छाले विदेशी नागरिकता लिएमा स्वतः नेपाली नागरिकता कायम रहने छैन’ भन्ने उल्लेख भएकोले साे व्यवस्था ब्रिटिश गोर्खालीहरुमा पनि लागु हुने र त्यसले नेपाल र स्वयम् बेलायतमा बस्ने गोर्खालीहरु दुबैलाई घाटा पुग्ने बताए ।
उनले विश्वभर छरिएका अरु नेपाली नागरिक र ब्रिटिश गोर्खाहरुको प्रकृति फरक रहेको प्रष्ट पारे । उनले भने, “ब्रिटिश गोर्खाहरु आफ्नो स्वेच्छाले भन्दा देशको तत्कालीन आवश्यकताले ब्रिटिश सेनामा भर्तीको राज्यले बिर्सनु हुँदैन ।”
नेपाली नागरिकता निरन्तरता किन?
सन् १८१६ को सुगौली सन्धिताका गोर्खाहरुलाई तात्कालीन नेपाल सरकारले बेलायती सेनामा पठाउने र त्यसको बदलामा तत्कालीन इष्ट इण्डिया कम्मनीले नेपालमाथि आक्रमण नगर्ने सर्त अनुसार सो प्रचलन चलेको तामाङको भनाइ छ ।
त्यसकारण नेपाली नगरिकताबाट बञ्चित गराइए गोर्खाहरु राज्यविहीन मात्रै नभएर देशमा विभिन्न क्षति हुने उनको ठहर छ ।
विदेशी मुद्रा नभित्रिने र पुँजी पलायन हुने, गोरखालीहरुको बेलायत बसाई असुरक्षित र राज्यविहीन हुने खतरा, गोर्खालीहरु नेपालबाट लोप हुने तथा देशले दक्ष जनशक्ति गुमाउने, गोर्खा सैनिक भाडाका सैनिक र गुलामका रुपमा परिचित हुनुका साथै त्यसले विश्वभर बहादुर गोर्खाहरुको पहिचान खराब हुने खतरा रहेकाे संयाेजक तामाङले बताए ।