सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा शुक्रबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
यसमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य छन् भने कृषि मन्त्रालयका सहसचिव सदस्य-सचिव रहने छन् ।
कार्यदलले काम सुरू गरेको एक महिनाभित्र प्रतिवेदन बुझाउन समय तोकिएको बैठकमा अर्थमन्त्री महतले बताए ।
यो कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ । यसले गाँजालाई औषधिका रूपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकीकरणको सम्भाव्यता के छ भन्नेबारे अनुसन्धान गर्नेछ ।
गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ ।
चालू आर्थिक वर्षको बजेटमा गाँजा खेतीको सम्भावनाबारे अध्ययन गर्ने उल्लेख थियो ।
बजेट वक्तव्यको १०५ नम्बर बुँदामा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले उल्लेख गरेका थिए ।