डोजरले निम्त्याएको डिजास्टर

काली बहादुर थापा

अहिले सडक नपुगेको बस्ती बिरलै भेटिएलान् । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । नागरिकले चाहेजस्तो दैनिक नगुडे पनि बिहान बेलुका मानिस ओसार्न र समान ओसार्न गाडी गुडिरहेका हुन्छन् ।

तर गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । वातावरणीय प्रभाव मुल्यङ्कन नगरी आ-आफ्नो प्रचारका निम्ति आँखाको सोरले र डोजरचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिना इञ्जिनियरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् । तर बर्खामा पूर्णरुपमा ठप्प हुन्छन् । त्यतिबेला सडक मात्र ठप्प नभई बजारमा सामग्रीको अभावले बजारभाउ पनि गरिबको ढाड सेक्ने गरी बृद्धि हुन्छ ।

यस किसिमका सडक निमार्णले गाउँ, बस्ती मात्र नभई पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडिदिएको छ । हुम्ला लगायत दुर्गमका थुप्रै गाउँ बस्तीहरु पहिराको उच्च जोखिममा छन् । बर्खा लाग्ना साथ उनीहरु घर छोडेर टाढा खर्कपातमा जानुपर्ने अवस्था छ ।

गाउँगाउँमा बनाइएका ग्रामीण सडकले बस्ती त जोखिममा पार्यो नै त्योसँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ । पहिले गाउँका हरेक डाँडा, पाखा र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर हिजो आज ती सम्पदा देख्न पाइन्छ की पाइँदैन ?

विकासका नाममा भएको ‘डोजरे विकास’ले महत्वपूर्ण इतिहास बोकेका सम्पदा नष्ट गरिदिएको छ । हामी पहिले भरियाको काम गर्ने समयमा बोकिने भारी बिसाउने ठाउँ छैन । भरिया, स्थानीयवासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटी–पौवा र धर्मशालाको अस्तित्व नै समाप्त भएको छ ।

२०६७-०६८ सालतिर साविकको कर्णाली अञ्चलको हुम्ला पुग्न कर्णाली चिसापानीबाट निरन्तर ७ दिन हिँड्नुपर्ने हुन्थ्यो । त्यहाँ बाटोघाटोमा कलात्मक चौताराहरु थिए । पाटी पौवाहरु थिए । अहिले तिनीहरु सबै हटेर गएको देखिन्छ । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोट्याइदियो र मौलिक सम्पदाको पहिचान भने मेटाइदियो ।

वातावरणीय प्रभाव मुल्यङ्कन नगरी आआफ्नो प्रचारका निम्ती आँखाको सोरले र डोजर चालक तथा सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् ।

त्यतिमात्र होइन हुम्लाको सदरमुकाम सिमकोट जाँदा वा बाजुराको सदरमुकाम मार्तडी जाँदा पनि बाटोका दर्जनौँ स्थानमा बर पिपलका चौतारा, ढुंगेधारा र धर्मशाला भेटिन्थे । सडक निर्माणका क्रममा ती सबै पुरिएछन् । अहिले केही मात्रमा देखिए पनि पहिले जस्तो छैन ।

गाउँ गाउँबाट एकै दिनमा सदरमुकाम जान–आउन नसकिने र अहिलेको जस्तो ठाउँ ठाउँमा बास बस्ने होटल हुँदा आफूहरु धर्मशालामा बास बस्ने गरेको हुम्ला अदानचुली १ का ६६ वर्षीय धनमल थापाको भनाइ छ । पहिले हप्ता दिन हिँडेर चिसापनी बजार जाने र त्यहाँबाट ठेटुवा लगायतका लत्ताकपडा ल्याउने जनाउँदै अहिले कच्ची सडक भएकाले एक दिन लाग्ने गरे पनि पछि पक्की सडक भए थोरै घण्टामै आउन सकिने भएको उनको भनाइ छ ।

गाउँमा कुनै पनि सरकारी काम नहुने हुँदा जिल्ला सदरमुकाममै जानु परेको स्मरण गर्दै अहिले सबै काम गाउँमा हुन थालेकोमा अत्यन्तै खुसी भएको उनको भनाइ छ । गाउँमा सडक आएपछि धेरै सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्न तर्फ कसैको ध्यान नगएको उनको गुनासो छ ।

मौलिक सम्पदा पहिचान भएको भन्दै पछिल्लो समय त्यो पहिचान संकटमा पर्दै गएको थापाको भनाइ छ । गाउँ गाउँमा सडक आए पनि नागरिकले चाहेको बेला चढ्न नपाउनाले सुबिधा नभएको अर्का बृद्ध प्रदिप महताराको भनाइ छ । उनले भने, ‘गाउँमा सडक आयो धेरै राम्रो भयो । हामीहरुले धेरै दुःख पाएका थियौँ । यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ । तर हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन । हाम्रा पालामा बर पिपल रोप्ने, चौपारी बनाउने, धर्मशाला, पाटीपौवा बनाउने चलन थियो । त्यो चलन अहिले छैन ।’

उनले भने, ‘नयाँ पुस्ताले बनाउनुको सट्टा संरक्षण पनि गर्न सकेन । अहिले कहीँकतै भेटिदैनन् । उतिबेला हामीहरुले बनाएका चौतारी, बास बस्ने धर्मशाला र पाटी पौवा, टाढा जानु पर्दा अहिलेको जस्तो गाडी हुँदैनथ्यो, हिँडरै पुग्नुपथ्र्यो । बास बस्नका लागि होटल हुँदैनथ्यो । त्यही पाटी पौवामा बस्नुपथ्र्यो ।

अदानचुुली १ का रुपचन्द्र थापाका अनुसार बाटो बाटोमा बरपिपल रोपेर चौपारी बनाउँदा पुण्य कमाइने मान्यता राखेर बर पिपल लगाउने गर्दथे । आफूहरुले पनि त्यस्तै गर्दै आएको भए पनि अहिले त्यो चलन हराएको उनले बताए ।
गाउँका हरेक पाका पुराना मान्छेले अहिले पनि त्यो चलनलाई निरन्तरता दिए पनि नयाँमा त्यो सोच नै नभएको उनको भनाइ छ ।

बाटोघाटोमा पुराना कलात्मक र ऐतीहासिक ढुंगाहरु बनाउने प्रचलन थियो र राखिएका पनि थिए । तर अहिले सडक बनाउँदा तिनीहरुलाई संरक्षण गर्नुको सट्टा फुटाएर अन्य काममा प्रयोग गरिएको छ ।

उनी भन्छन्, ‘अहिलेका पुस्तालाई विकास चाहिएको छ । घरघरमा सडक चाहियो, धारा चाहियो, सबैथोक चाहियो । तर सार्वजनिक ठाउँमा भएको सबै विनाश गर्ने परिपाटी भयो । बर पिपल लगाउनु त राम्रो कुरा हो नि । पाटीपौवा पनि राम्रो हो, मान्छे स्वार्थी बने, धर्मकर्म मान्न छोडे, विकासका नाममा सबै विनाश गर्न थाले, हामीहरुले बटुवाका लागि पानी खान कुवा संरक्षण गर्यौं, ढुंगे धारा बनायौं, अहिले त सबै भत्काइदिए ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्