मेन्छ्यायेम ६ सिक्देम तेह्रथुमस्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएकाे छ ।

विद्यालयका संस्थापक दिवंगत मणिशंकर सेरेङ चोङबाङकी छोरी उषा सिरेङ इधिङ्गोबाट ३ लाख १० हजार रुपैयाँकाे अक्षयकोष स्थापना गरिएकाे हाे ।

‘मणिशंकर सिरेङ तथा डम्बरकुमारी फुदोङ अक्षयकोष’ नाम राखिएको कोषले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने विद्यालयले जनाएको छ ।

कार्यक्रममा मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङले मणिशंकर सिरेङ चोङबाङको योगदानको चर्चा गरेका थिए ।

कोषको स्थापनाले विद्यार्थीहरुलाई प्रोत्साहन मिलेको बताउँदै यो कार्य सुरुवात मात्रै हुनसक्ने र भविष्यमा अन्य धेरै कोषहरु स्थापना हुने अध्यक्ष खापुङले बताए ।

कार्यक्रमको बिचमा नातिनातिनाद्वारा संकलित रकमद्वारा खरिद गरिएको टेबलकुर्सी पनि विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

स्कुलको तर्फबाट कोष स्थापनाकर्ता उषा सिरेङलगायत सिमला सिरेङ, दिपबहादुर सिरेङ र राजेन्द्र सिरेङलाई सम्मान गरिएको थियो ।

काे हुन् मणिशंकर सिरेङचोङ्बाङ ?

शिक्षाप्रेमी मणिशंकर सिरेङचोङबाङकाे जन्म साविक मोराहाङमा भएको हो । सरकारी सेवामा जीवन बिताएका मणिशंकरले तेह्रथुम, ताप्लेजुङलगायतमा जागिर खाएका थिए ।

शिक्षा नै मानिसको लागि महत्वपूर्ण कारक हो भन्ने बुझेकैले गाउँमा मकैको ढोड बालेर विद्यार्थी बटुली पढाउने गर्दथे । त्यही पढाइ नै सिद्धेश्वर प्रावि बनेको हो ।

विद्यालयमा पुस्तकालयको स्थापना, हुलाकको स्थापना गर्नुका साथै वि.सं. २०१० मा चन्द्रमान कन्दङ्वासँग लिथोबाट किरात लिपिको वर्णमाला, इमान सिंह चेम्जोङद्वारा लिखित किरात साहित्यको इतिहास (२०३०) को प्रकाशन गरेका थिए ।

सामान्य ज्ञान (२०३८), जन्मदेखि मर्दासम्मको किरात संस्कार (२०३८), सामान्य ज्ञान (दोश्रो संस्करण), सेरेङचोङ लिम्बू वंशावली, पाङ्गेनहाङ लिम्बू वंशावली, १५६ थरसहित पिल्मङ राई तीन पूर्खाको वंशावली, लिम्बू भाषामा लेकवेँशी अङ्गालेको पालामख्याली, लिम्बू भाषा शब्द सङ्ग्रह, आफ्नो जीवनी, प्राथमिक उपचारसम्बन्धी पुस्तकहरू लेखेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here