‘ब्राम्हणको छोरो हुँ, माझ किरातको प्रचार गर्दैछु’

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले आफू ब्राम्हणको छोरा भए पनि माझ किरातमा जन्मिएकोले आफूमा कतै न कतै किरातीको अंश रहेको बताएका छन् ।

सोमबार काठमाडौं कोटेश्वरस्थित किरात राई यायोक्खामा यायोक्खाका प्रतिनिधिहरुसँग उनले आफू किरातको संस्कृतिमै हुर्किएको बताए ।

उनले भने, ‘म ब्राम्हणको छोरा भए पनि माझ किरातमा जन्मिएको किरातको संस्कृतिमै हुर्किएको, कतै न कतै, कुनै न कुनै किरातीको अंश ममा पनि छ भन्ने मैले अनुभुत गरेको छु ।’

उनले आफूले जापान र कोरियाको भ्रमणमा जाँदा त्यहाँ उपहारको रुपमा किरात संस्कृतिका सामग्रीहरु नै लगेको स्मरण पनि गरे ।

खोटाङ माझ किरात भएकोले खोटाङबाट विदेशीहरुलाई उपहार बोक्दा शंख र घण्ट लगेर नहुने उनको भनाइ छ ।

उनले थपे, ‘खोटाङबाट जाने मान्छेले शंख र घण्ट लगेर हुँदैन । त्यहाँ हामीले किरात संस्कृतिकै प्रचार गर्नुपर्छ र त्यो हाम्रो जिम्मेवारी पनि हो ।’

आफू ब्राम्हण कुलमा जन्मिए पनि स्थानीय किरात संस्कृति र सभ्यतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्ने आप्mनो जिम्मेवारी रहेको उनले बताए ।

उनले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले धरानमा सुम्निमा–पारुहाङको प्रतिमासहितको पार्क निर्माण गर्न लागेकोमा प्रमुख साम्पाङलाई धन्यवाद पनि दिए ।

सो क्रममा उनले खोटाङको बुइपामा पनि आफूहरुले विश्वकै अग्लो यलम्बर राजाको प्रतिमा निर्माण गरिरहेको बताए ।
उक्त प्रतिमाको डिजाइन किरात राई यायोक्खाले बनाएको प्रमुख भट्टराईले बताए ।

तर उक्त प्रतिमा निर्माणका लागि नगरपालिकाको दायित्व अनुरुप आफूहरुले गत वर्ष १ करोड ८३ लाख र चालु वर्ष २ करोड १० लाख दिए पनि प्रदेश सरकारले आफ्नाे दायित्वभित्र पर्ने ५ करोड रकम अझै नदिएको गुनासो गरे ।

प्रदेश सरकारले चालु वर्ष ५० लाख मात्र छुट्याएको भन्दै उनले एकपटक प्रदेश सरकारलाई आफ्नाे दायित्व अनुसारको थप बजेट दिनका लागि दबाब सिर्जना गर्न यायोक्खासँग पनि अनुरोध गरे ।

उक्त कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ पनि सहभागी भएका थिए ।

प्रमुख भट्टराईले आगामी फागुन ५ देखि १७ गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शन गरिने जानकारी पनि दिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्