धरानका मेयर हर्क साम्पाङले चिन्डेडाँडामा सुम्निमा पारुहाङको प्रतिमा मात्र नभएर किरातीहरुको इतिहास, सभ्यता र संस्कृतिबारे सम्पूर्ण ज्ञान प्राप्त हुने सांस्कृतिक सम्पदा निर्माण गर्न लागिएको बताएका छन् ।
शुक्रबार बिहान सुम्निमा पारुहाङ प्रतिमा निर्माणार्थ आर्थिक सहयोग ग्रहण गर्दै मेयर साम्पाङले धरान–२० को चिन्डेडाँडामा देशकै सबभन्दा पुरानो सभ्यताकाे संरक्षण गरी पुस्तानान्तरण गर्न लागिएको बताए ।
‘त्यहाँ गइसकेपछि सुम्निमा पारुहाङको मूर्ति रैछ भन्ने मात्रै नभएर किराती संस्कृतिबारे सम्पूर्ण ज्ञान प्राप्त हुने एउटा सम्पदा निर्माण गर्न खोजिरहेका छौं,’ उनले भने ।
उनले त्यहाँ पुग्नेहरुले साच्चै अनुभूति गर्ने गरी वातावरण निर्माण गरिने बताए ।
‘त्यहाँ खानेकुरा पनि मःम र चाउमिन हुँदैन,’ उनले भने, ‘त्यहाँ गइसकेपछि कमसेकम एउटा अनुभूति लिएर निस्कनुपर्यो । हामी एउटा जीवन्त सम्पदा निर्माण गर्न गइरहेका छौं । मुन्दुमविद् र इतिहासविद्हरुसँग परामर्श गरिरहेका छौं ।’
उनले चिन्डेडाँडामा एउटा इतिहास लेखन कार्य हुने बताए ।
‘यो एउटा इतिहास लेखन हो,’ उनले भने, ‘हामीले पानी ल्यायौं, बाटो बनायौं, भवन बनायौं, पुल बनायौं, त्यो केही वर्षको लागि हो । तर जे कुरा हामी बनाउँदैछौं, त्यो हजार वर्षको लागि हो ।’
सो क्रममा उनले धरानमा जे काम हुन्छ, त्यस्तो अन्य कुनै पनि पालिकामा नहुने जिकिर गरे ।
धरानमा देश–विदेशमा रहेका खासगरी लाहुरे समुदायको सहयोगले ७ करोड रुपैयाँको त खानेपानीको लागि पाइप मात्रै खरिद गरिएको उनले बताए ।
धरानमा जस्तो आर्थिक सहयोग र श्रमदान अन्य कुनै पालिकामा नहुने उनको भनाइ छ ।
उनले धरानमा सरकारी बजेट र जनश्रमदान तथा आर्थिक सहयोगबाट विकासका काम भइरहेको बताए ।
ती विकासका कामहरु छिटो र गुणस्तरीय होस् भनेर आफूले अनुगमन गरिरहेको उनले बताए ।
धरानका नगर प्रहरीले खोला तथा नदीजन्य उत्खनन् नहोस् भनेर रातदिन गस्ती गरिरहेको भए पनि नेपाल प्रहरीबाट भने अपेक्षित सहयोग प्राप्त नभएको उनको गुनासो छ ।