अब ७५३ वटै पालिकाका विद्यालयहरुमा नेपाल स्काउट गठन गरिने

नेपाल स्काउट अब सबै स्थानीय तहका विद्यालयमा फैलिने भएको छ । नेपाल स्काउट प्रधान कार्यालयद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देशका ७५३ वटै पालिकाहरुमा स्काउटको संरचना निर्माण गरिने जनाइएको छ ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार २००९ सालमा गठित संस्थालाई देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय तहमा विस्तार गरिनेछ ।

स्काउटको संरचना हाल नयाँ राज्य संरचना अनुसार सातवटै प्रदेश र स्थानीय तहमा बनाइदै छ ।

‘परम्परागत संरचनामा खुम्चिएर रहेको स्काउटले नयाँ संरचना सँगै समयको माग अनुसार गतिशिल हुने अवसर पाएको छ’, उनले भने ।

विगतमा भन्दा अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै स्काउट गतिविधि बढेको पनि उनले बताए । परिणामस्वरुप विगत लामो समयदेखि निष्क्रिय देखिएको नेपाल स्काउटको अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाइमा पुगेको उनले बताए ।

स्थानीय संरचनाअन्तर्गत हरेक विद्यालयमा कम्तिमा एकवटा स्काउट समिति बन्ने जानकारी संयोजक भण्डारीले दिए । ती समितिहरुमार्फत विद्यार्थीले अनुशासन, कुलतबाट बच्ने उपाय, सामाजिक कार्यमा सक्रियता एवं शारीरिक तथा मानसिक विकाससम्बन्धी तालिम प्राप्त गर्ने छन् ।

स्काउटको इतिहासमा यस आर्थिक वर्षमात्र ५० हजार बढी स्काउट स्वयंसेवक परिचालन गरिएको र कोभिडको महामारीमा शव व्यवस्थापनसम्मका सामाजिक कार्यमा सक्रिय रहेको थियो ।

नेपाल स्काउट ऐन २०५५ अनुसार प्रधानमन्त्री नेपाल स्काउटका संरक्षक र माननीय युवा तथा खेलकुद मन्त्री प्रमुख स्काउट हुने व्यवस्था रहेको छ भने प्रदेशमा मुख्यमन्त्री संरक्षक सामाजिक विकास मन्त्री प्रमुख स्काउट हुने व्यवस्था हुनुका साथै स्थानीय पालिकामा, पालिका प्रमुख संरक्षक तथा पालिका उपप्रमुख प्रमुख स्काउट हुने व्यवस्था छ ।

यसबाट संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा नीतिगत रुपमै हरेक बिद्यालयमा स्काउट युनिटहरु संचालन हुनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्