खगेन्द्र माखिम ।

ब्रमिम शेर्मा संयोजक रहेको ‘पहिचानवादी एकता अभियान’ले कोशी प्रदेश नाम खारेज गरी किरात प्रदेश राख्नुपर्ने धारणा अघि सारेपछि डा. महेन्द्र लावती संयोजक रहेको ‘पहिचानवादी मोर्चा’ले पहिचानवादी एकता अभियानसँग आफूहरूको कुनै सम्बन्ध नरहेको प्रष्ट पारेको छ ।

मोर्चाका संघीय सदस्य तथा कार्यालय प्रमुख खगेन्द्र माखिमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहिचानवादी एकता अभियानसँग आफूहरूको कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका हुन् ।

मोर्चाकै केन्द्रीय सदस्य तथा सांस्कृतिक विभागको प्रमुख रहेको भनिएका ब्रमिम शेर्माले नै लिम्बुहरूको मात्रै एकताले लिम्बुवान असम्भव रहेकाेले काेशी प्रदेशकाे नाम खारेज गरी किरात राखौं भनेपछि सो सम्बन्धमा मोर्चाको आधिकारिक धारणा के हो प्रष्ट पार्नुपर्ने भन्दै सामाजिक सञ्जालबाट दबाब दिइएको थियो ।

मोर्चाका संघीय सदस्य माखिमले आफूहरू दश प्लस एक प्रदेशको पक्षमा रहेको प्रष्ट पारेका छन् । उनले कोशी प्रदेश (प्रदेश नं. १) को नाम के राख्ने भन्ने विषयमा प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सबै घटकहरूसँग छलफल गरी तय गरेको साझा नाम नै मोर्चाको पनि आधिकारिक धारणा हुने बताएका छन् ।

नो कोशी, नो केबलकार लगायत सबैखाले पहिचान र अधिकारसँग सम्बन्धित संघर्षहरुलाई सफल पार्न, पहिचानवादी पार्टीहरुलाई एकजुट बनाएर शक्तिमार्फत पहिचानमा आधारित अधिकारसम्पन्न दश प्लस एक प्रदेश सुनिश्चित गराउन मोर्चाको स्थापना भएको माखिमले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here