मेयर भट्टराईका माग तत्काल सम्बोधन गर्न जिल्लास्तरीय दबाब

जीवनरक्षाका लागि पनि सरकारसँग अपिल

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले सातबुँदे माग राखेर आमरण अनशनमा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सरकारसँग तत्काल माग सम्बोधन गर्न माग गरेका छन्।

प्रमुख राईले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाले उनको जीवनरक्षाका लागि पनि सरकारसँग अपिल गरेका हुन्।

‘संघीयता कार्यान्वयनको सिलसिलामा संघ, प्रदेश र स्थानीय सरकारहरूको सहकार्यात्मक प्रयासबाट उपर्युक्त सवालहरूले निकास पाउँछन् र सहजीकरणका लागि संघीय सरकारको प्रमुख भूमिका हुनुपर्दछ,’ मेयर भट्टराईका सातबुँदे मागबारे उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘नगरप्रमुखले उपर्युक्त सवालहरूको निकासका लागि सत्याग्रह, आमरण अनशन हुँदै देहत्यागसम्मको संकल्प लिनुभएको छ। उहाँले उठाउनुभएको मागहरूप्रति ऐक्यबद्धता जाहेर गर्दै सवालहरूको समयमै सम्बोधन गर्न संघीय सरकारसमक्ष आग्रह गर्दछौं।’

नेपाली कांग्रेसका नेता समेत रहेका मेयर भट्टराईले साउन १४ गतेदेखि अनिश्चितकालीन आमरण अनशन थालेका हुन्। उनले साउन ११ गतेदेखि नै भोकहड्ताल सुरु गरेका थिए।

उनको स्वास्थ्य अवस्था नाजुक भएपछि चिकित्सकहरूको सल्लाहअनुसार बिहीबारदेखि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ।

मेयर भट्टराई अस्पताल भर्ना भएपछि बिहीबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताल पुगेर भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

मेयर भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मन्त्री पाैडेल ।

बराहपोखरीकाे ऐक्यबद्धता

यसैबीच, खोटाङस्थित बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जाराले पनि मेयर भट्टराईको आमरण अनशनमा ऐक्यबद्धता जनाउँदै सरकारसँग तत्काल वार्तामार्फत समस्याको समाधान गर्न माग गरेका छन्।

अध्यक्ष बन्जाराले बिहीबार प्रेस विज्ञप्तिमार्फत सरकार तथा सरोकारवालाहरूको ध्यानाकर्षण गराएका हुन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img