धरानका बौद्धिक व्यक्तित्व राजेन्द्र शर्माले ८५ प्रतिशत अनुदान र १५ प्रतिशत मात्र ऋण हो भने खानेपानीका लागि संघीय सरकारले दिने ६ अर्ब रुपैयाँ धरान उपमहानगरपालिकाले स्वीकार गर्नुपर्ने धारणा राखेका छन्।
महेन्द्र क्याम्पसका सेवानिवृत्त सह–प्राध्यापक समेत रहेका शर्माले यदि खानेपानीका लागि संघीय सरकारको बजेटको ८५ प्रतिशत अनुदान हो भने यो एक आकर्षक योजना रहेको बताए।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई ‘एक्शन ओरियन्टेड मेयर’ भन्ने टिप्पणी गर्ने शर्माले संघीय सरकारको अनुदान स्वीकार गर्नुपर्ने धारणा राखे।
देवाहाङ राई युट्युबसँग कुराकानी गर्दै उनले धराने जनता सधै पानीको हाहाकारमा नबसून् भन्ने चाहना व्यक्त गरे।
उनले १५ प्रतिशत ऋण अर्थात ९० करोड मात्र ऋण लिएर बाँकी रकम अनुदानबाट धराने जनतालाई राम्ररी पानी खुवाउन सकिने बताए।
त्यसैले ६ अर्ब रुपैयाँ अनुदान लिनुपर्ने उनको स्पष्ट धारणा छ।
तर, मेयर साम्पाङले हाल ऋण लिएर खानेपानीको योजना अघि नबढाउने अडान लिइरहेका छन्।
उनका विरोधीहरू सामाजिक सञ्जालमा टिप्पणी गर्दै भन्छन्– खानेपानीको एजेन्डा लिएर जितेका साम्पाङले यदि ६ अर्ब अनुदान स्वीकार गरे भने उनको राजनीति गर्ने एजेन्डा समाप्त हुने भएकोले उनले प्रस्ताव अस्वीकार गरेका हुन्।
मेयर साम्पाङको अडानबारे शर्माले भने, ‘उनी अभियान्ता थिए, उनको मेयरमा जित्ने पहिलो एजेन्डा पानी थियो । अब पानीको समाधान गरिदियो भने अर्को एजेन्डा के हुन्छ? त्यसैले पानीको समस्या उनले समाधान नगरेकाे भनेर आलोचना गर्नेहरू पनि छन्। यदि यति थोरै ऋणमा समस्या समाधान हुन्छ भने र उनले स्वीकार गरेनन् भने, उनीमाथि लागेको आरोप सत्य हो भनेर जनताले पत्याउनेछन्।’
उनले हर्क साम्पाङ राजनीतिक सिद्धान्तका आधारमा होइन, मुद्दाका आधारमा जन्मिएको नेतृत्व भएकाले खानेपानीको मुद्दा सकिए पनि उनले उठाएका भ्रष्टाचारसम्बन्धी मुद्दा जीवित रहने बताए ।



