भोजपुरका सामुदायिक विद्यालयले अब विद्यार्थीलाई मात्र किताबका अक्षरमा सीमित नराखी जीवनोपयोगी सीपतर्फ उन्मुख गराएका छन्।
राज्यको नीतिअनुसार सुरु भएको प्राविधिक शिक्षाले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बनाउन सहयोग पुग्न थालेको छ।
भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयमा अहिले विद्यार्थीले किताबसँगै कोदाली र हाँसिया चलाउन थालेका छन्।
विद्यालयले १५ रोपनी खेत लिजमा लिएर आधुनिक खेती प्रणालीको अभ्यास गराउँदै आएको छ।
विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार यो प्रयासको उद्देश्य विद्यार्थीलाई “पढेपछि रोजगार खोज्नुपर्ने होइन, आफैं रोजगारी सिर्जना गर्न सक्ने” बनाउन हो।
उनले भने, “आजको शिक्षा प्राविधिक हुनुपर्छ। यहाँका विद्यार्थीले सिकेको सीपले भोलि कुनै न कुनै उद्यममा लागून् भन्ने हाम्रो चाहना हो।”
यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने ३२ जना विद्यार्थीले कृषि बाली विज्ञान अन्तर्गत १६ विषय पढ्छन्।
धान, मकै, तरकारी, च्याउखेती, मौरीपालन, माछापालनदेखि जैविक विषादी निर्माणसम्म उनीहरूले प्रत्यक्ष अभ्यासमार्फत ज्ञान हासिल गर्छन्।
बाली विज्ञान प्रशिक्षक सुलोचना गिरीले अभ्यासले विद्यार्थीलाई आत्मविश्वासी बनाएको बताइन्।
“तिनीहरूले यहाँ सिकेको सीप भविष्यमा व्यवसायमा रुपान्तरण गर्न सक्छन्,” प्रशिक्षक गिरीले भनिन्।
कक्षा १२ की विविहाङमा राईले आफैंले खेतमा गरेको अभ्यासलाई जीवनको ठूलो लगानी मान्छिन्।
“हामीले सिकेको कुरा व्यवहारमै उतार्न पाउँदा सजिलो भएको छ,” उनले भनिन्।
यसअघि सञ्चालन भएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम बन्द भएपछि विद्यार्थी मारमा परेका थिए। तर, यशोधराले सुरु गरेको अभ्यासमुखी प्राविधिक शिक्षाले फेरि नयाँ सम्भावना खोलेको छ।
