इटहरीका श्रमदाता श्रम संस्कृति पार्टीमा नलाग्ने, साम्पाङको शैलीप्रति गम्भीर असन्तुष्टि

हर्क साम्पाङले नेतृत्व गर्न लागेको प्रस्तावित ‘श्रम संस्कृति पार्टी’मा पनि कार्यकर्ताहरू नेतृत्वको नियन्त्रित विचारमा चल्नुपर्ने, नेतृत्वले कार्यकर्ताहरूका सकारात्मक सुझावहरू नसुन्ने, कार्यकर्ताहरू नेताकै वरिपरि बसेर चाकडी गर्ने र जनताको अगाडि एउटा कुरा गर्ने तर भित्र अर्कै स्वार्थमा लाग्ने पुरानै किसिमको राजनीतिक प्रवृत्ति देखाउन थालेको भन्दै डेरराज गुरुङ संयोजक रहेको ‘स्वतन्त्र नागरिक समाज इटहरी’ले उक्त पार्टीमा आबद्ध नहुने घोषणा गरेको छ।

संयोजक गुरुङले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै हर्क साम्पाङ र उनका कार्यकर्ताहरूले पुरानै दलका नेता–कार्यकर्ताहरूले जस्तै शैली देखाएकाले उक्त पार्टीमा आबद्ध नहुने निर्णयमा पुगेको बताएका छन्।

यसअघि, हर्क साम्पाङसँग सहमति गरेरै स्वतन्त्र नागरिक समाज इटहरीले २०८० फागुन १९ गते इटहरी–३ बुढीखोलाले कटान गरेको भागमा तारजाली र ढुंगा बोक्दै श्रमदान अभियान सुरु गरेको थियो। उनीहरूले त्यसयता नियमित रूपमा श्रमदान अभियान चलाउँदै आएका छन्।

विज्ञप्तिमा भनिएको छ, “पुराना राजनीतिक पार्टीहरूमा नेताले निर्णय गर्ने र कार्यकर्ता नेताको नियन्त्रित विचार अनुसार परिचालित हुनुपर्ने भएकाले कार्यकर्ताहरूलाई ‘नेताको झोले’ भनेर अपहेलित र अपमानित हुनुपर्ने अवस्था रहेको छ। कार्यकर्ताहरूका सकारात्मक सुझाव र सल्लाहको कतै सुनुवाइ नहुने, नेताहरू निरंकुश हुने, आफ्नो विरुद्ध कुनै खाले आलोचना वा असहमति सुन्न नसक्ने, जनताको अगाडि एक कुरा र भित्रभित्र आफ्नै स्वार्थ सिद्ध गर्न खेल हुने, मेहनत गर्ने कार्यकर्ताको उचित मूल्यांकन नहुने तर नेताको वरिपरि घुम्नेहरूलाई नै असल कार्यकर्ता ठानिने जस्ता प्रवृत्तिका कारण नेपालीहरूमा राजनीतिक पार्टीप्रतिको चरम वितृष्णा बढेको छ।”

विज्ञप्तिमा थप भनिएको छ, “श्रम संस्कृति पार्टी पनि यी अवगुणहरूबाट अछुतो नरहेको, बरु सुरुवाती अवस्थामै यस्ता विकृतिहरूलाई अझ बढी प्रस्रय दिइएको देखिएको छ। सामूहिक नेतृत्वमा चल्नुपर्नेमा पूर्ण रूपमा संवादहीनता देखिनु र हुकुमी शैलीमा फरमान जारी गर्दै पार्टी चलाउने प्रवृत्ति प्रष्ट भएकोले, आत्मसम्मान गुमाएर कुनै सचेत र इज्जतदार नेपालीले यस्तो पार्टीमा आबद्ध हुनु किमार्थ उचित नहुने निष्कर्षमा हामी पुगेका छौँ। त्यसैले हाम्रो स्वतन्त्र नागरिक समाज इटहरी स्वतन्त्र हैसियतमै रहनेछ।”

विज्ञप्तिमा जेनजी आन्दोलनपश्चात पुराना दलहरूको जग हल्लिएको अवस्थामा इमानदार र देशभक्तहरू एकजुट भएर नयाँ पार्टी गठन गर्नुपर्नेमा, हर्क साम्पाङले भने पुरानै राजनीतिक शैलीमा अलग–अलग पार्टी खोलेर पुरानै शक्तिहरूलाई बल पुर्याउने काम गरेको उल्लेख गरिएको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img