किरात बायुङ राई सुम्निखिमले शनिबार काठमाडौँमा पाँचौँ वार्षिकोत्सव मनाएको छ।

किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई र भाषा आयोगका निमित्त सचिव डा. लोकबहादुर लोप्चनलाई प्रमुख तथा विशेष अतिथिको रूपमा सहभागी गराएर विभिन्न सांगठनिक गतिविधिसहित वार्षिकोत्सव मनाइएको हो।

सो क्रममा सुम्निखिमले बायुङ राईहरूको मुख्य बसोबास रहेको जिल्लाहरूमा स्थलगत सर्वेक्षण गरी भाषाको नाम ‘बायुङ’ कायम गर्न माग गर्दै निमित्त सचिव लोप्चनमार्फत आयोगलाई मागपत्र बुझाएको छ।

बायुङ राईहरूलाई ‘बाहिङ’, ‘बाइङ’, ‘बायिङ’, ‘रुम्दाली’ र ‘नेचाली’ भनेर लेख्ने–बोल्ने गरिएको भए पनि मौलिक नाम बायुङ भएकाले त्यसलाई कायम गर्न माग गरिएको हो।

निमित्त सचिव लोप्चनले आगामी आर्थिक वर्षमा बायुङ भाषाको स्थलगत अध्ययन गरी यकिन गर्ने गरी आयोगको वार्षिक कार्यक्रममा समेटिने प्रतिबद्धता व्यक्त गरे।

उनले घर–परिवारमा नबोलेसम्म मातृभाषा जोगिन नसक्ने भन्दै सबैलाई आफ्नै भाषा बोल्न आग्रह गरे।

यायोक्खाका अध्यक्ष राईले राज्यले किरात समुदायलाई विभाजित गर्ने काम गर्दै आएको र किरातीहरू आफैँमा पनि एकताको भावना कमजोर रहेको बताए।

उनले साना–साना अलग जाति भएर अल्पसंख्यक बन्दैमा राज्यबाट केही प्राप्त नहुने भन्दै अधिकार प्राप्तिका लागि राई जातिको एकतामा लाग्न आग्रह गरे।

कार्यक्रममा सुम्निखिमका सल्लाहकार यसबहादुर बायुङ सेचोचा राईले संस्थाको विशेष कोषमा एक लाख रुपैयाँ प्रदान गरे।

ज्ञान बायुङ राईको अध्यक्षता तथा युवराज बायुङ राईको सञ्चालनमा भएको कार्यक्रममा संस्थाको मुखपत्र ‘चासुवा’को पाँचौँ अंक सार्वजनिक, विभिन्न व्यक्तिहरूलाई सम्मान, होङ सेग्रो सिली प्रदर्शनलगायतका गतिविधि गरिएको थियो।

सुम्निखिमले देशभर २९ जिल्ला र विदेशमा समेत गरी करिब एक लाख बायुङ राईहरू रहेको दाबी गरेको छ। बायुङ राई किरात राईभित्रको एक भाषिक समुदाय हो।

साल्पा अनलाइनका रिलहरू हेरेर लाइक कमेन्ट र साझा गर्नुहाेस्ः