सुनसरी। खुवालुङ क्षेत्रमा माङ्खिमसहित विभिन्न सांस्कृतिक संरचनाको शिलान्यास गरिएको छ।
जिल्ला कार्यसमिति (सुनसरी, धनकुटा र उदयपुर) तथा खुवालुङ जग्गा व्यवस्थापन एवं माङ्खिम निर्माण उपसमिति साथै किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति काठमाडौँको आयोजनामा मङ्गलबार उक्त संरचनाको शिलान्यास गरिएको हो।
धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सङ्गमस्थल त्रिवेणी क्षेत्रमा रहेको खुवालुङ खाम (परिसर) लाई मुन्दुमी आस्था र शक्तिको अभ्यासस्थलका रूपमा विकास गरिँदै खुवालुङ्मा मुन्दुमी खिम (घर) निर्माण गरिनुका साथै आगन्तुकका लागि आवासीय संरचना पनि निर्माण गरिने किरात राई यायोक्खाका अध्यक्ष जीवन हताचो राईले बताए।
किराती समुदायको संस्कृति र ज्ञान प्रणालीलाई प्रतिनिधित्व गर्ने गरी ‘किरात राई सांस्कृतिक मौखिक ज्ञान सङ्ग्रहालय’ र ‘मुन्दुम खिम’ निर्माण गरिनेछ।
सङ्ग्रहालयमा अडियो, भिजुअल, तस्बिर तथा सांस्कृतिक सामग्री सङ्कलन गरिनेछ भने मुन्दुम खिममा किराती मुन्दुम र ज्ञान प्रणालीसम्बन्धी शिक्षा सञ्चालन गरिने अध्यक्ष राईको भनाइ छ।
कोशी प्रदेश सरकारले दुई करोड ४० लाख बजेटमा उक्त सङ्ग्रहालय निर्माण हुन लागेको हो।
खुवालुङ नेपालको सप्तकोशी नदीस्थित त्रिवेणी क्षेत्रमा रहेको एक चट्टान हो, जुन किराती समुदायका लागि पवित्र मानिन्छ।
खुवालुङ (सप्तकोशीस्थित त्रिवेणी) लाई मौलिक सांस्कृतिक केन्द्रका रूपमा विकास गर्दै देशकै महत्त्वपूर्ण सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखिएको अध्यक्ष राईले बताए।
सखुवा कन्स्ट्रक्सन कन्सल्टेन्सीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहकारी विकास तथा भवन कार्यालय धनकुटामा प्रस्तुत भइसकेको छ।
किरात राई यायोक्खाले उक्त डिपीआर परिमार्जन गर्नुपर्ने मागसहित संशोधन प्रस्तावसमेत पेस गरेको जनाएको छ।
परिमार्जित डिपीआर तयार गर्दा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशद्वारा तयार गरिएको ‘खुवालुङः किरातीहरूको पुर्ख्यौली पवित्र आस्था तथा मुन्दुमी शक्ति केन्द्र (सांस्कृतिक इन्जिनियरिङ अर्थात् सैद्धान्तिक अध्ययन), २०८२’ लाई आधार बनाइएको जनाइएको छ।
करिब छ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको माङ्खिम र मुन्दुमी खिमका लागि आवश्यक जग्गा किरात राई यायोक्खा केन्द्रीय कार्य समिति र व्यवस्थापन समितिले विभिन्न दाताबाट रकम सङ्कलन गरी खरिद गरेको हो।
साथै स्थानीय तीर्थराज राई, धर्मराज राई र देवराज राईले दुई रोपनी जग्गा दान गरेको किरात राई यायोक्खा उपाध्यक्ष जनक राईले बताए।
खुवालुङ नेपालको सप्तकोशी नदीस्थित त्रिवेणी क्षेत्रमा रहेको एक चट्टान हो, जुन किराती समुदायका लागि पवित्र मानिन्छ।
दूधकोशी, अरुण र तमोर नदीको सङ्गमस्थलमा रहेको उक्त ढुङ्गालाई किराती समुदायले ‘खुवालुङ’का रूपमा चिन्ने गरेका छन्।
यो किरातीहरूकाे पवित्र स्थल मध्येको एक मानिन्छ।

किराती भाषामा ‘खु’ भनेको ठुलो, ‘वा’ भनेको पानी र ‘लुङ’ भनेको ढुङ्गा भन्ने अर्थ लाग्छ। यसरी ठुलो नदी (कोशी) को बीचमा रहेको ढुङ्गा भएकाले ‘खुवालुङ’ नाम रहन गएको हो।
मुन्दुमी मिथकअनुसार खुवालुङलाई किरातीहरूको साझा आस्था स्थलका रूपमा व्याख्या गरिएको छ।
प्रकृति पूजक किराती समुदायको हजारौँ वर्षदेखिको आत्मिक सम्बन्ध खुवालुङसँग जोडिएको मानिन्छ। किरात राई समुदायभित्र रहेका विभिन्न भाषा, थर र पाछामा पाइने विविधतालाई समेत खुवालुङसम्बन्धी मिथकले सम्बोधन गर्ने विश्वास रहँदै आएको छ।

