मगर समुदायको संस्कृति र परम्पराको अध्ययन–अनुसन्धान गर्ने तथा गराउने उद्देश्यले ‘मगर सांस्कृतिक अध्ययन नेपाल’ स्थापना गरिएको छ।
उक्त संस्थाको शुभारम्भको अवसरमा आइतबार काठमाडौंको राष्ट्रिय नाचघरमा मगर समुदायमा प्रचलित झाँक्रीसम्बन्धी पुस्तक ‘नेपालमा झाँक्री उपचार पद्धति र आरोग्य पर्यटन’ को लोकार्पणसमेत गरिएको छ।
उक्त पुस्तकका लेखक मीन श्रीस मगर हुन् भने प्रकाशकको रूपमा मगर सांस्कृतिक अध्ययन नेपाल रहेको छ।
उक्त पुस्तक आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, सांस्कृतिक संस्थानका महाप्रबन्धक तथा सदस्य–सचिव किरणबाबु पुन र नेपाल मगर संघका पूर्वसह–अध्यक्ष गंगा थापा मगरले संयुक्त रूपमा लोकार्पण गरे।
सो क्रममा कार्यक्रमका प्रमुख अतिथि आयोगका अध्यक्षलगायत विशेष अतिथि तथा अतिथिहरूले मगर समुदाय, मगर सांस्कृतिक अध्ययन नेपाल र लोकार्पित पुस्तकबारे आ–आफ्ना धारणा राखेका थिए।

मगर सांस्कृतिक अध्ययन नेपालका अध्यक्ष मनबहादुर पुनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मगर समुदायका मौलिक सांस्कृतिक नृत्यहरूसमेत प्रदर्शन गरिएको थियो।
मगर भेषभूषामा सजिएका मगर समुदायका कलाकारहरूले परम्परागत नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमको अन्त्यमा विभिन्न व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।

