भ्रम फैलाउने अनाधिकृत ३८ वटा अनलाइन बन्द गरिँदै

प्रेस काउन्सिल नेपालले कोरोना महामारीका कारण गरिएको दोस्रो चरणको निषेधाज्ञाको अवधिमा ६५ सञ्चारमाध्यमले आचारसंहिता उल्लंघन गरेको जनाएको छ ।

निषेधाज्ञाको समयमा पनि निरन्तर अनुगमन गरिरहेको काउन्सिलले गत वैशाख १६ गतेदेखि जेठ ४ गतेसम्मको अवधिमा ती सञ्चारमाध्यमले आचारसंहिता उल्लङ्घन गरेको पाइएको जनाएको हो ।

निषेधाज्ञा जारी भएको अवस्थामा कर्मचारीहरुले काउन्सिलबाट र केही कर्मचारीले घरबाट अनुगमन गर्ने गरी व्यवस्था मिलाइएको उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराले जानकारी दिए ।

प्रेस काउन्सिलका अनुसार आचारसंहिता उल्लंघन गर्नेमा अधिकांश अनलाइन समाचार पोर्टल छन् ।

अनुगमन अवधिमा ‘भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण भएकोले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि पत्राचार भएका’ मिडियाकाे संख्या ३८ छ । ती काउन्सिलमा दर्ता नभएका अनलाइन हुन् ।

काउन्सिलमा दर्ता नभएका यस्ता अनलाइनहरूलाई नेपालभित्र खोल्नै नमिल्ने बनाउन काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने गरेको छ ।

यस्तै ‘कोरोना संक्रमणका विषयमा वीभत्स दृश्य, अतिरञ्जित सामग्री सम्प्रेषण गरेवापत’ काउन्सिलले ११ मिडियालाई सचेत गराएको छ ।

निधेषाज्ञाको अवधिमा कोरोना संक्रमणभन्दा फरक विषयमा तीनवटा मिडियालाई स्पष्टीकरण सोधिएको छ ।

दुईवटा मिडियासँग जवाफ माग गरिएको काउन्सिलले जनाएको छ । तर यस अवधिमा प्रक्रिया पूरा गरी दर्ता भएका उजुरीको संख्या भने ९ छ ।

गत वैशाख २८ गतेसम्म ४१ र वैशाख २९ गते यता २४ वटा आचारसंहिता उल्लङ्घनका घटना अभिलेख गरिएको काउन्सिलले जनाएको छ ।

हाल पत्रकार आचारसंहितासम्बन्धी उजुरी अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्