Saturday, September 23, 2023

ढल्यो वडाअध्यक्षको ‘उच्च जातीय अहंकार’, माफी मागे राईसँग

भोजपुरस्थित हतुवागढी गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष चन्द्रबहादुर विष्टले सोही वडाका स्थानीय वृद्ध भक्तबहादुर राईसँग माफ मागेका छन् ।

आर्थिक अवस्था नाजुक रहेको राईले आफूलाई पैसा आउने काम दिनका लागि वडाअध्यक्षसँग माग गर्दा विष्टले राईलाई उच्च जातीय अहंकार देखाउनुका साथै तल्लो स्तरमा झरेर गाली गरेका थिए ।

विष्टले काम माग्न आएका राईलाई उच्च जातीयता प्रदर्शन गर्दै अपशब्द प्रयोग गरिरहेको एउटा भिडियो हिजोदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

वडाअध्यक्ष विष्टले आफू जनताको प्रतिनिधि हुँ भन्ने कुराको समेत हेक्का नराखी गाउँको गरिब तथा निम्न वर्गको निमुखा व्यक्तिमाथि अमानवियता देखाएको भन्दै उनलाई पद छोड्न वा माफ माग्न चेतावनी दिइएको थियो ।

विष्टले राईलाई ‘खुरुक्क घर जा’, ‘मुख नचला म तसँग डराएर भाग्दिनँ, म ९० प्रतिशत राईबाट निर्वाचित भएर आएको क्षेत्री हुँ’ लगायत शब्द प्रयोग गरेका थिए ।

भिडियोमा लौरो टेकेर उभिरहेका राईले वडाअध्यक्ष विष्टसँग सामाना गर्दै ‘घर जान्न’ भनेर जवाफ दिदाँ विष्टले ‘यही बसेर मर न त’ भन्दै मुख छाडेका थिए ।

यो घटना गत जेठ १२ गतेको थियो ।

नेकपा एमाले (केपी ओली समूह) का नेता समेत रहेका वडाअध्यक्ष विष्टले आज प्रेस विज्ञप्ति निकालेर राई र उनको परिवारसँग सार्वजनिक रुपमै माफ माग्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बालबालिका र ज्येष्ठ नागरिकलाई हामीले श्रममूलक कार्य गराउन मिल्दैन साथै शारीरिक अवस्थाको कारण समेत तपाईं श्रममूलक काम गर्न सक्नुहुन्न भनी सम्झाउने क्रममा आवेगमा आएर मैले केही अशोभनीय शब्द प्रयोग हुन गएकोमा गम्भीर आत्मआलोचना गर्दै निज भक्तबहादुर राई लगायत सपरिवारसँग सामाजिक रुपमै भेटेर माफ माग्ने, क्षमायाचना गर्ने र सामाजिक सञ्जालमा राखिएको भिडियोमा उल्लिखित शब्द कहीकतै जातीयताको खिलाफमा नभएर आगेवमा फुत्किएको शब्दप्रति सार्वजनिक रुपमा माफी मागेको व्यहोरा यसै विज्ञप्तिमार्फत सबैलाई जानकारी गराउन चाहन्छु ।’

भिडियाे हेर्न तलकाे लिंकमा जानुहाेस्ः

https://www.facebook.com/gauriman.rai.5/videos/5530622497011531

हाम्राे युट्युब सब्स्क्राइभ गर्नुहाेलाः

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. तेस्ता मुला जनप्रतिनिधि को के आसा लिनु एस्लाई कडाभन्दा कडा कार्बाही हुनुपर्छ, पद्च्युत गरिनु पर्छ?

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्