समाजसेवी तथा सार्जन जीतबहादुर राईको ८४ वर्षको उमेरमा निधन

भोजपुरस्थित टेम्केमैयुङ गाउँपालिकाको भरनागी घर भएका तथा हाल संयुक्त राज्य अमेरिकास्थित ओहायो राज्य निवासी किरात राई सोसाइटी अफ अमेरिकाका पूर्व बोर्ड डिरेक्टर तथा निवर्तमान केन्द्रीय अध्यक्ष चन्द्रकुमार राईलाई पितृशोक परेको छ ।

उनका पिता जीतबहादुर राईको ८४ वर्षको उमेरमा गत जुन १६ मा निधन भएको छ ।

संस्थाका पूर्वअध्यक्षलाई पितृशोक परेपछि किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष रामकुमार राई र महासचिव मार्कस राईले आज एक समवेदनापत्र जारी गरेका छन् ।

‘माझकिरात–खिकाम्छा, टेम्के मैयुङको भरनागी, हाल संयुक्त राज्य अमेरिकाको ओहायो राज्य निवासी यस संस्थाका पूर्व बोर्ड डिरेक्टर/निवर्तमान केन्द्रीय अध्यक्ष चन्द्रकुमार राईज्यूको पिता जीतबहादुर राईज्यूको ८४ वर्षको उमेरमा सन् २०२१ जुन १६ मा असामयिक निधन भएको खबरले हामी किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) केन्द्रीय कार्यसमिति, च्यापटर कार्यसमितिहरु एवम् सम्पूर्ण केआरएसए परिवार मर्माहत भएका छौं,’ समवेदनापत्रमा भनिएको छ, ‘साथै यस दुःखद् परिस्थितिमा संस्थाको केन्द्रीय समितिको अध्यक्ष रामकुमार राईज्यूको अध्यक्षता आकस्मिक बैठक बसी शोकप्रस्ताव पारित गरी पूर्व बोर्ड डिरेक्टर/निवर्तमान केन्द्रीय अध्यक्ष चन्द्रकुमार राईज्यूसहित परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।’

केआरएसएले दिवंगत आत्माको साम्खामा बास होस् भनी सुम्निमा–पारुहाङसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

पूर्वअध्यक्ष राईलाई पितृशोक परेकोमा केआरएसएअन्तर्गत मूल माङखिम कार्यसमितिका संयोजक खगेन्द्र राईले पनि समवेदनापत्र जारी गरेका छन् ।

उनले ब्रिटिस आर्मीका पूर्व सार्जनसमेत रहेका दिवंगत जीतबहादुर राईले अवकासप्राप्त भएपछि पनि गाउँमा सामाजिक क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको स्मरण गरेका छन् ।

‘ब्रिटिस सेवाको अवकासपछि पनि जातीय/भाषिक संघसंस्थाहरुलाई आर्थिक, भौतिक र नैतिक टेवा दिनुहुने उहाँको गुण नेपालका जातीय/भाषिक संस्थाहरुले सम्झिरहनेछन्,’ राईले भनेका छन्, ‘इमान्दार, स्वाभिमानी, निडर सामाजिक अभियान्तालाई गुमाउनुको पिडा मैले यतिखेर महसुस गरिरहेको छु । मान्छे मृत्युको लागि जन्मन्छ तर पुर्खाको विरासतको रक्षा गर्दै आफ्नाे यश फैलाउनुपर्छ । उहाँले पनि पुर्खाको विरासतको रक्षा गर्दै यश फैलाउनुभयो, देशभित्र रहँदा होस् वा ब्रिटिस गोर्खा सेनामा रहँदा । त्यसैले उहाँको आत्माले सुप्तुलुङमा बास गर्नेछ ।’

दिवंगत जीतबहादुर राईले भरनागीमा विद्यालय स्थापना गर्ने, पुस्तकालय स्थापना गर्ने लगायत शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए । पछिल्लो समय गाउँमै रहेको बेला उनको निधन भएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्