पहिराेमा पुरिएका दुईको जीवितै उद्धार

गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन् ।

बिहान अन्दाजी पाँच बजेको समयमा घरमाथिबाट खसेको पहिराेले पुरिँदा सरोज रिमाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । घाइते दुवैको लमजुङ अस्पतालमा उपचारको लागि पठाइएको छ ।

पहिराेमा परी १९ बाख्रा, दुई भैँसी मरे

गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण पहिराेले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिराेमा परी दुई घरपरिवारका बाख्रा भैँसी मरेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी निवासी टेकबहादुर महतको गोठमाथिबाट आएको पहिराेले १० बाख्रा र एक भैँसी मरेको छ ।

त्यसैगरी सोही वडास्थित चेतबहादुर भुजेलको घर माथिबाट आएको पहिराेले नौ बाख्रा र एक भैँसी पुरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । पहिराले पुरिएका ५५ वर्षीय खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई जीवितै उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उनीहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।

पृथ्वीराजमार्ग खुलाइ पनि डुम्रे–बेँसीशहर र खैरेनी–भिमाद खण्डमा पहिरो अवरुद्ध भएपछि हटाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिराेले दुई जनाको मृत्यु भएको छ । पहिराेमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिराेबाट सोही जडाका करिब ३० वर्षीय सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिनुभयो । सरस्वती थापाका ससुरा, सासु र देवर घाइते भएका छन् ।

खेतमा डुबेर एकको मृत्यु

निरन्तर वर्षा भइरहेको अवस्थामा रातको समयमा खेतमा पानी लगाउन गएका तनहुँका एक व्यक्तिको डुबेर मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–८ का ५८ वर्षीय भोजबहादुर विकको खेतमा आएको भेलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षा भइरहेको समयमा रातको समयमा खेतमा गएका विकको जागृति टोलस्थित खेतमा मृतावस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले खेतमा लडेपछि डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको बताउनुभयो । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ ।

बाह्र सय रोपनी खेतको धानबाली नष्ट

तनहुुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित रहेको ढोरफिर्दीको झण्डै एक हजार २०० रोपनी खेतमा पसेको बाढीले धानबाली नष्ट गरेको छ । केही दिनदेखिको निरन्तरको वर्षापछि बाराहीखोलामा आएका बाढीले बालुवा र हिलो खेतमा पु¥याएपछि भर्खरै लगाएको धानसहित खेत पुरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मी जानकारी दिनुभयो ।

“हामी महाविपत्तिको सामाना गरिरहेका छौँ, हाम्रो वडावासीको खेत पुरेको अवस्था छ, घरहरु डुबानमा परेका छन् । सडक सबै अवरुद्ध छन्”, वडाध्यक्ष रेग्मीले भन्नुभयो । उहाँका अनुसार वडाको डहरे बस्तीका झण्डै ६५ परिवार बाढी र वर्षापछिको डुबानमा पर्ने उच्च जोखिममा रहेका छन् । उनीहरूलाई अन्य सुरक्षित क्षेत्रमा सर्न अनुरोध गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्