नेफिन युकेका अध्यक्षलाई किराया युकेकाे प्रश्नः तपाईं शेर्पा कि तोक्पेगोलाबाट अध्यक्ष हुनुभाे ?

किरात राई यायोक्खा बेलायत (किराया बेलायत)ले नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन बेलायत)का नवनिर्वाचित अध्यक्ष कर्म पहाडी शेर्पालाई आफू शेर्पा कि तोक्पेगोला जातिको हो ? भन्ने कुरा प्रष्ट पार्न अनुरोध गरेको छ ।

किराया बेलायतका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राई र महासचिव चन्द्रवती राईले गत १२ जुलाईमा एक प्रेस विज्ञप्ति जारी गरी आफू कुन जातिको हो ? भन्ने चिनाउन कर्म पहाडी शेर्पालाई अनुरोधसहित चुनौती दिएका हुन् ।

शेर्पा संघ बेलायतबाट प्रतिनिधित्व गर्दै नेफिन बेलायतको महासचिव र उपाध्यक्ष समेत भइसकेका कर्म पहाडी शेर्पा गत जुन १९ मा सम्पन्न नेफिन बेलायतको चौथो महाधिवेशनमा फेरि ‘तोक्पेगोला समन्वय समिति युके’बाट प्रतिनिधित्व गर्दै नेफिन बेलायतको अध्यक्षमा भएका थिए ।

शेर्पा संघ बेलायतबाट प्रतिनिधित्व गरी महासचिव र उपाध्यक्ष भइसकेका कर्म पहाडी शेर्पा आफैले पछिल्लो समय तोक्पेगोला समन्वय समिति युके गठन गरी सो पुनः साे संस्थाबाट प्रतिनिधि भएर नेफिन बेलायतको अध्यक्ष बनेपछि विवादित भएका हुन् ।

दुई अलग आदिवासी जाति (शेर्पा र तोक्पेगोला)काे संस्थालाई केवल पदका लागि प्रयोग गरेका कर्म पहाडी शेर्पासँग नेफिन बेलायतको अध्यक्षमा रहिरहने नैतिकता नै नरहेको किराया बेलायतले उल्लेख गरेकाे छ ।

‘नेफिन युकेको नवनिर्वाचित अध्यक्षले आफूलाई कुन जाति हो भनेर चिनाउनुहुन्छ ? यदि शेर्पा भनेर आफूलाई चिनाउनुहुन्छ भने तोक्पेगोला जातिसँग उहाँहरुको सम्मानमा आफूले ठेस पुर्याएकोप्रति माफी माग्नु पर्छ कि पर्दैन ?,’ कर्म पहाडीमाथि प्रश्न गर्दै किराया बेलायतले भनेको छ, ‘कि शेर्पा जाति नै तोक्पेगोला हो र तोक्पेगोला नै शेर्पा जाति हो भनेर प्रमाणित गर्न सक्नुपर्यो, यदि सक्नुहुन्न भने पदमा रहिरहन कुन नैतिकताले दिन्छ ?’

किराया बेलायतले कर्म पहाडी शेर्पाले सिर्जना गरेको विवाद टुंगोमा नपुगेसम्म वा नेफिन बेलायतको नेतृत्व नसच्चिएसम्म नेफिन बेलायतको गलत कार्यको साक्षी बस्न नसकिने विज्ञप्तिमार्फत नेफिन बेलायतमा आबद्ध सबै जातीय संस्थाहरुलाई जानकारी समेत गराएको छ ।

कर्म पहाडी शेर्पाले गरेको बठ्याइँबारे नेपाल शेर्पा संघले यसअघि नै गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले गत असार २० गते नेपाल आदिवासी जनजाति महासंघका संघीय परिषद् अध्यक्षलाई ध्यानाकर्षणपत्र लेख्दै कर्म पहाडी शेर्पाले महासंघको विधान मिचेर पदलोलुपताका लागि बठ्याइँ गरेकाले पुनः नेफिन बेलायतको निर्वाचन गराउन माग गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्