Wednesday, May 31, 2023

किरात शब्द जोडेर ‘किरात सिरिजङ्गा लिपि’ भनिएकोमा युमा साम्योको आपत्ति

सिरिजङ्गा लिपिलाई किरात शब्द जाेडेर ‘किरात सिरिजङ्गा लिपि’ भनिएको भन्दै युमा साम्यो महासभा अन्तर्राष्ट्रिय समन्वय समितिले गम्भीर आपत्ति जनाएको छ ।

समितिका अध्यक्ष नरेन्द्र माबोहाङ र सचिव धनराज साम्याङ्खामले गत १९ जुलाईमा प्रेस विज्ञप्ति जारी गरी किरात सिरिजङ्गा लिपि भनिएकोमा आपत्ति जनाएका हुन् ।

समितिले लिपिको नाम केवल ‘सिरिजङ्गा’ हुनुपर्ने जनाएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले गत जुलाई ९ र १० मा काठमाडौंमा किरात समुदायका लागि साझा लिपि निर्माण गर्ने विषयमा गोष्ठिको आयोजना गरेको थियो ।

जसमा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्षहरुले नेपालका किरातीहरुका लागि एउटै साझा लिपि निर्माण गरी लेखन पद्धतिमा ल्याउन तयार रहेको बताएका थिए ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बूले २०४९ सालमै किरात सिरिजङ्गा लिपि नामाकरण गरी प्रचलनमा ल्याइएको बताएका थिए ।

चार किरात संस्थाका प्रतिनिधिहरुले सो लिपिलाई साझा लिपिको रुपमा विकास गर्न सकिने प्रतिक्रिया दिएका थिए ।

अध्यक्ष लिम्बूले सिरिजङ्गालाई श्रेय दिने गरी लिपिको नाम किरात सिरिजङ्गा लिपि राखेर सबैले चलाउन सकिने बताएका थिए ।

तर उक्त लिपिले किरात समुदायमा प्रचलित करिब तीन दर्जन भाषाका सबै वर्णहरुलाई समेट्न नसक्ने भएकोले आवश्यक वर्णहरु थपेर साझा बनाउन सकिने उनले भनाइ राखेका थिए ।

चुम्लुङ बाहेक अन्य किरातजन्य संस्थाले किरात सिरिजङ्गा लिपि चलाउने निर्णय नगरेको भए पनि ती समुदायका कतिपय अगुवाहरुले पहिलादेखि नै सोही लिपि चलाउँदै आएका छन् । जसलाई उनीहरुले किरात लिपि भन्ने गरेका छन् ।

हाल समितिले किरात शब्द थपिएकोमा आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सावायेहाङ (येत्तहाङ) कालतिर नै विकसित भएको त्येअङ्सी सि थेबे (सिरिजङ्गा) २ प्रति समर्पित यस सिरिजङ्गा लिपिलाई चारवटा किरातजन्य संस्थाहरुले मात्र नभइ सम्पूर्ण हिमालयन मूलबासीहरुले नै साझा लिपि स्वीकार गरे यसको महत्व अझ बढ्ने कुरामा द्विविधा छैन । यहाँ महत्वपूर्ण र स्पष्ट हुनुपर्ने सवाल चाहिँ साझा लिपिको बहानामा सिरिजङ्गा लिपिलाई किरात सिरिजङ्गा लिपि वा अन्य कुनै नाम दिनुमा सर्वथा गलत हो ।’

याे पनि पढ्नुस्ः

एउटै साझा लिपि बनाउन चार किरातका प्रतिनिधि तयार

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्