अस्ट्रेलियाका विभिन्न सहरमा लकडाउनको विरोधमा प्रदर्शन

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिबार सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा आयोजित लकडाउनविरोधी ठूला प्रदर्शनको निन्दा गरेका छन्।

उनले प्रदर्शनका सहभागीहरूलाई “स्वार्थी तथा स्वयं पराजित व्यक्ति” को सङ्ज्ञा दिँदै तिनले कोरोनाभाइरस फैलाउने जोखिम लिएको बताए ।

मोरिसनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनुबाहेक अरू कुनै चामत्कारिक उपाय नभएको बताए ।

न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै कडा निषेधाज्ञा प्रभावकारी रहेको बताएकी छन् ।

विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड-१९ का कारण थप दुई व्यक्तिको निधन भएको छ ।
सिड्नीमा भएका प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका थिए। मेल्बर्न र ब्रिस्वेनमा साना प्रदर्शनहरू भए ।

प्रदर्शनका क्रममा मानिसहरू ‘स्वतन्त्रता’ भन्दै सिड्नीको केन्द्रतर्फ अघि बढेका थिए ।

अधिकारीहरूका अनुसार ५७ प्रदर्शनकारी पक्राउ परेका छन् । अस्ट्रेलियाको सरकारले सङ्क्रमणको नयाँ लहर सुरु भएपछि देशभरि पुनः लकडाउन लगाएको छ ।

अतिसङ्क्रामक डेल्टा भेरिअन्टको आगमनसँगै त्यहाँ विगतमा अपनाइएको सीमा बन्द गर्ने, क्वारन्टीन कार्यक्रम सञ्चालन गर्ने र बेलाबेलामा लकडाउन गर्ने रणनीतिले चुनौतीको सामना गरिरहेको छ ।

विकसित देशहरूमध्ये सबैभन्दा न्यून खोप लगाउने दर अस्ट्रेलियामा छ। त्यहाँ अहिलेसम्म १४ प्रतिशतभन्दा कम व्यक्तिले खोप लगाएका छन् ।

न्यू साउथ वेल्सको स्वास्थ्य निकायले सिड्नी क्षेत्रलाई कोभिड ‘हटस्पट’ घोषणा गरेको केही बेरमै मानिसहरूले त्यहाँ र्‍याली निकालेका थिए ।

कतिपयले ‘मास्क झारेर ठूलो स्वर पार’ र ‘अस्ट्रेलिया जाग’ जस्ता नारा लगाएका थिए। प्रदर्शनकारीले सडकमा अवरोध गरेका थिए र सिड्नी टाउन हलअगाडि भेला भएका थिए। एउटा समूहले घोडासवार प्रहरीलाई बोतल प्रहार गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्