Tuesday, July 5, 2022
19.5 C
Diktel

साझा लिपि निर्माणबारे नेपाल र भारतका प्रतिनिधिहरुबीच छलफल

किरातीहरुको साझा लिपि निर्माणबारे नेपाल र भारतका विभिन्न किरात राईजन्य संस्थाका प्रतिनिधि, विज्ञ तथा अगुवाहरुबीच सोमबार छलफल गरिएको छ ।

किरात राई यायोक्खाले जुम मिटिङबाट आयोजना गरेको छलफलमा ‘किरात सिरिजङ्गा लिपि’ र ‘सुम्हू (कृपासल्यान) लिपि’बारे करिब चार घण्टासम्म अन्तरक्रिया गरिएको छ ।

पछिल्लो समय किरात सिरिजङ्गा लिपिलाई किरात समुदायको साझा लिपि बनाउने बहसको नेतृत्व गरेको यायोक्खाले भारतको सिक्किम र दार्जिलिङस्थित किरात राईजन्य संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको हो ।

जसमा भारतीय प्रतिनिधिहरुले आफूहरुले चलाएको लिपिलाई नै नेपालमा प्रयोग गर्न अनुरोध गरेका छन् ।

भारतीय किरात खम्बु राई रुहुपका अध्यक्ष मोहन दुङ्माली राईले सुम्हू लिपिलाई हाल ‘किरात राई लिपि’ नामाकरण गरिएको र यस लिपिलाई भारतीय सरकारले मान्यता दिएर स्थापित समेत भइसकेकोले नेपालमा पनि चलाउन अनुरोध गरे ।

उनले भने, ‘१३८ करोड आवादी भएको देश (भारत) ले यो लिपिलाई मान्यता दिएकोमा हामीले गर्व गर्नुपर्छ । यो लिपि तपाईहरुलाई चलाइदिनुस् भनेर अनुरोध गर्न चाहन्छौं ।’

उनले राई शब्द हटाएर ‘किरात लिपि’ मात्र भनेर पनि चलाउन सकिने बताए ।

अखिल किरात राई संघ सिक्किमका अध्यक्ष चन्द्र खालिङले आफूहरु अब किरात राई लिपिबाट पछि हट्न नसक्ने भन्दै राईहरुको एकताका लागि पनि सबैले किरात राई लिपि चलाउनुपर्ने बताए ।

उनले भने, ‘तपाईहरुले पनि यही लिपि चलाउनुभयो भने कमसेकम राईहरुबीच भाषामा एकरुपमा हुँदैन रहेछ, मुन्दुममा पनि एकरुपता हुँदैन रहेछ, लिपिमा चाहिँ संसारभरिका राईहरुबिच एकरुपता ल्याउन सकिन्छ ।’

सिक्किमका भाषाविद् बीबी रोक्दुङले सिक्किममा २६ वर्षअघि नै आफूहरुले किरात सिरिजङ्गा लिपि चलाउन खोज्दा लिम्बुहरुले चलाउन नदिएपछि टीकाराम राईले दैविक शक्तिबाट निर्माण गरेको सुम्हू लिपि चलाउन बाध्य भएको बताए ।

नेपालको तर्फबाट किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले नेपाल र भारतका राईहरुले फरक लिपि चलाउँदैमा राईहरुको विभाजन हुन्छ भन्ने सोंच राख्न नहुने बताए ।

‘लिपि मिलेन भन्दैमा मेचीको सीमाना लगाएर कहिले पनि हामी एक हुँदैनौं भन्नहुन्न यहाँहरुले,’ उनले भने, ‘किनभने हामी धर्मको हिसाबले, संस्कृति हिसाबले एक छौं ।’

भाषाविद् तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारामणि राईले सिक्किममा चलाइएको लिपिले राईभित्रका २६ वटा भाषाहरुलाई समेट्न नसक्ने बताए ।

उनले भने, ‘त्यो लिपि मूलतः बान्तावा भाषालाई केन्द्रित गरेर बनाएको देखिन्छ ।’

उनले सबै किरातीहरुले किरात सिरिजङ्गा लिपि प्रयोग गर्नका लागि त्यसमा भएको २५ वटा व्यञ्जन वर्णहरुलाई थपेर करिब ४३ वटा पुर्याउनुपर्ने बताए ।

पत्रकार तथा किरात राई वाम्बुले भाषाका विज्ञ गणेश राईले नेपालमा वि.सं २०१० सालमै नारदमुनि थुलुङ मन्त्री हुँदा उनले नेपालमा किरात परिषद् गठन गरेको र त्यसमा किरात सिरिजङ्गा लिपि प्रयोग गरिएको बताए ।

उनले वाम्बुले समुदायले किरात सिरिजङ्गा लिपिलाई नै वाम्बुले भाषामा किरात लिपिको नाममा लामो समयदेखि चलाउँदै आएको बताए ।

यायोक्खाका पूर्वअध्यक्ष तथा सल्लाहकार राजबहादुर राईले सिक्किममा जे भए पनि नेपालमा भने पहिलेदेखि नै किरात सिरिजङ्गा लिपि राईहरुले चलाउँदै आएको स्मरण गराए ।

उनले यायोक्खाको लोगो र छापका साथै मुखपत्र ‘निप्सुङ’मा पनि किरात सिरिजङ्गा लिपि प्रयोग हुँदै आएको बताए ।

उनले नेपालका लिम्बुहरुले कहिले पनि किरात सिरिजङ्गा लिपि लिम्बुहरुको मात्र हो भनेर नभनेको बताए ।

यायोक्खाका अध्यक्ष दिवस राईले नेपालका किरात राईहरुले पहिलेदेखि नै किरात सिरिजङ्गा लिपिलाई साझा बनाउने कुरा गर्दै आएको बताए ।

‘किरात सिरिजङ्गा लिपिलाई विस्तार गरेर सबैको साझा बनाउनुपर्छ भन्ने कुरा किरात राईहरुले पहिलेदेखि नै भन्दै आएको हो,’ उनले भने, ‘यायोक्खाले पनि सिरिजङ्गा लिपिलाई प्रयोग गर्दै आएको हो । सिरिजङ्गालाई नै आधार बनाएर राईभित्रका आधा दर्जन भाषिक संस्थाहरुले यो लिपि प्रयोग गरिराख्नुभएको छ ।’

उनले सिक्किममा राईलाई बढी र नेपालमा किरातलाई बढी स्थापित गर्न खोजिएको बताए ।

‘सिक्किममा राईलाई ब्रान्डिङ गरिराखेको छ तर नेपालमा किरातलाई ब्रान्डिङ गरिराखेको छौं,’ उनले भने, ‘सभ्यता, संस्कृति, इतिहासको हिसाबले पनि यो किरातहरुको भूमि हो भन्ने लागेर हामीले किरातलाई ब्रान्डिङ गरिराखेका छौं । किरात लिपि अनौपचारिक रुपमा हामीले चलाइरहेकै छौं ।’

उनले राईहरुले दुईवटा लिपि चलाउँदैमा एकता नबिग्रिने भन्दै दुवैको सहअस्तित्व स्थापना गर्ने, नेपाल र सिक्किमका राईहरुबिचको असमझदारी हटाउने र आगामी दिनमा निरन्तर छलफल चलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

यायोक्खाका महासचिव जनक राईले सञ्चालन गरेको कार्यक्रममा दुवै देशका विभिन्न संस्थाका प्रतिनिधि, विज्ञ तथा अग्रजहरुले आआफ्नाे विचार राखेका थिए ।

किरात सिरिजङ्गा लिपिलाई साझा लिपिकाे रुपमा विकास गरी लेखन प्रणालीकाे विकास गर्न नेपालका किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज लगायत किरातजन्य संस्थाका प्रतिनिधिहरु यसअघि नै तयार भएका थिए ।

उनीहरुले यस सम्बन्धमा थप संस्थागत तथा प्राज्ञिक छलफल अघि बढाउने बताएका थिए ।

6 COMMENTS

  1. Darjeeling le chai bhag liyena ki kaso? Sikkim ra ra Nepal ko matra chhalfal thiyo ki ? Lakhau rupia kharchera samai ra urja nasta garera Yayokha ko aguwai ma dui palta antartastriya sammelan ra Dharan Darjeeling Gangtok ra Siliguri ma gareko bahas baithak ko uplabdhi yei ho? Matra tamasha dekhaunu thiyexa.

  2. Sawannay jhara sandiwa chonglo oko page da jhara kirawa Che Yang ha nemuna Chang yanglo? Aung Suda ak dum Yang muisakiya sanyang oo

  3. त्यसोसले हामीले साझा लिपि बनाउने कुरा गर्दै आएको हो भन्ने कुरा थाहै नभएकोले हामी भारतका राईहरू सहमत हुन असमर्थ छोैं।

  4. सिक्किम को राई लिम्बू को समस्या के हो थाहा भएन तर लिपि नै अलग गर्नु मुर्खता हो सिक्किमे राई हरु को मुल घर नेपाल भको हुनाले सदियुउ देखि यहि सिरिजङ्गा लिपि चलाउदै आएका तमाम हामि किराँती ले यसै लाई प्राथमिक दिदै आउने दिन मा सिक्किम का राई सुधृनु पर्छ बोली चाली अलग भएनि लिपि मा एकबद्द हाउ है साथी हो जय किरात

  5. किरात राई ययोक्खा, नेपाल र सिक्किम – दार्जिलिङका राईहरूमा भएको लिपि बिसय खबर पडदा अधुरो रिपोर्टिङ भएको लाग्यो।
    मुलत लिपिको अन्योलता उत्पन्न भएको कारण २०११ मा भएको अन्तर्राष्ट्रिय किरात राई सम्मेलनमा छलफल भएकोे लिपि किरात राई लिपि हो र अहिले आएर हठातेेेेै ययोक्खा, नेपालले साझा लिपि बिषय एकतर्फी निर्णय ।
    २०११ को अन्तर्राष्ट्रिय किरात राई सम्मेलनमा ययोक्खाका प्रतिनिधिले लिम्बूहरूले हामीलाई सिरिजङ्गा लिपि चलाउनु दिएको छैन र हामिले आफ्नै लिपि निर्माण गर्न पर्ने कुरामा सिक्किमका प्रतिनिधिले सहमति जनाएका थिए र किरात राई लिपिको विकसित गर्न किराति खम्बु राई सांस्कृतिक संस्थान, दार्जिलिङ र अखिल किरात राई संघ,सिक्किमलाई जिम्मेवारी त्यस सम्मेलनमा दिईएको हो र २०१५ मा भारतमा भएको दोस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलनमा यो किरात राई लिपिको बिस्तृत जानकारी उप्लब्ध गराइएको हो।
    दार्जिलिङका श्री एम एस राईले राख्नुभएको यी माथिका कुरा रिपोर्टिङ नहुनुमा साझा लिपिको कुरोले ल्याएको अन्योलता समाधानको मुल कडि नै अनदेखा गर्नु हो।
    ययोक्खाका प्राय वक्ताहरूले सिरिजङ्गा लिपि चलाउंदै आएको र लोगोमा पनि त्यही लिपि भएको भने कुरा राख्नु भयो। त्यसो हो भने २०११ को सम्मेलनमा हाम्रो आफ्नै लिपि हुन पर्छ भन्ने ययोक्खाकै प्रतिनिधिको मुख्य भूमिकाबाट उत्पन्न छलफल हाल ययोक्खाका प्रतिनिधिलाई थाह नभएको हो? अन्तर्राष्ट्रिय किरात राई सम्मेलनले छलफल गरेको कुरो अनदेखा गर्न सकिन्छ ?
    २०११ देखि शुरू भएर २०१५ मा भएको दोस्रो अन्तर्राष्ट्रिय किरात राई सम्मेलन त्यस पछि २०१६ को अन्तर्राष्ट्रिय किरात राई समन्वय समितिको सभासम्म किरात राईको साझा लिपि सिरिजङ्गा हुनपर्छ भन्ने कुरा कसैले पनि उठाउनुभएको थिएन।
    त्यसोसले हामीले साझा लिपि बनाउने कुरा गर्दै आएको हो भन त्यसोसले हामीले साझा लिपि बनाउने कुरा गर्दै आएको हो भन्ने कुरा थाहै नभएकोले हामी भारतका राईहरू सहमत हुन असमर्थ छोैं।

  6. अब किरात भन्ने शब्दले ती चार जातलाई मात्र समेटदैन होला। यसले त मकबुङ, हर्कबुङ र रिबलुङका सन्तानहरुलाई पनि समेटिन्छ। तेसो भए सबै किरातहरुको लिपि एउटै हुनु पर्ने हो तर खोइ त? चारकिरातमा पनि लिम्बु दाज्यु भाइहरुको पनि आफनै सोचाइ र पक्ष छ आफुलाई किरात कहलाउनुमा। वहाँहरु कै अन्तरद्वन्द छ भने लिपि पनि कता? अँ पहिलाबाट नै किरात लिपि नै नाम राखेको भए सायद अरु किरातीहरु पनि यही लिपिलाई नै प्रयोग गर्थे होला तर सिरिजङा लिपि भन्दै आएकोले अनि पहिलादेखि नै सिरिजङा लिपिलाई बिशेष लिम्बु दाज्यु भाइहरुले प्रयोगमा ल्याइ सकेर सिक्किम सरकारको अधिसुचनामा सिक्किम सरकारको राज्य भाषाको मान्यता सन् १९८१ पाइसकेका छन्।
    नेपालले यो लिपिलाई प्रयोग गर्दै आएता पनि अहिलेसम्म सिरिजङा लिपिमा देखापरेको कतिपय अक्षरहरु जोडिनु कतिको सम्भव छ त्यो भविष्यले तय गर्नेछ। नेपाल सरकारबाट मान्यता पाउनु अझ बाँकी नै छ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्