Thursday, March 23, 2023

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको लेटरहेडमा किरात सिरिजङ्गा लिपि

नेपालका किरातजन्य जातीय संस्थाका प्रतिनिधिहरुबीच साझा किरात लिपि निर्माणबारे छलफल चलिरहेका बेला खोटाङस्थित जन्तेढुङ्गा गाउँपालिकाले आफ्नाे लेटरहेडमा किरात सिरिजङ्गा लिपि प्रयोगमा ल्याएको छ ।

गाउँपालिकाले गत असार २७ गतेको कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार लेटरहेडमा देवनागरीका साथै किरात सिरिजङ्गा लिपि प्रयोग गरेको हो ।

कार्यपालिकाले नयाँ आर्थिक वर्ष अर्थात् २०७८ साउन १ गतेदेखि लेटरहेडमा किरात लिपि समेत समावेश गरी प्रयोग गर्ने निर्णय गरेको थियो ।

हाल किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजलगायत संस्थाका प्रतिनिधिहरुले एउटै साझा लिपि निर्माण गरी लेखन पद्धतिको विस्तार गर्ने प्रयास गरिरहेका छन् ।

चुम्लुङले २०४९ सालदेखि नै संस्थागत निर्णय गरी किरात सिरिजङ्गा लिपि प्रयोग गर्दै आएको छ । हाल सोही लिपिलाई किरातीहरुको साझा लिपिको रुपमा विकास गर्ने प्रयास भइरहेको छ ।

गत असार अन्तिम साता काठमाडौंको कोटेश्वरस्थित यायोक्खा कार्यालयमा आयोजित एक कार्यक्रममा चुम्लुङका अध्यक्ष योगराज लिम्बूले लिपिको नाम तय गर्दा भने सिरिजङ्गालाई श्रेय दिनुपर्ने बताएका थिए ।

जसमा अन्य संस्थाका प्रतिनिधिहरु तयार देखिएका थिए ।

तर, किरात सिरिजङ्गा लिपिमा नेपालका करिब तीन दर्जन किराती भाषाहरु समेट्नका लागि सो लिपिका स्वर तथा व्यञ्जन वर्णहरु थप्नुपर्ने भाषाविद् डा. तारामणि राईले सुझाव दिएका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्